मृतकका परिवारले राहत पाएनन्

बैतडी, २७ भदौ । बैतडीको तल्लोस्वाराडमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले एक महिना पुग्न लाग्दा समेत क्षतिपूर्ति तथा राहत पाउन सकेका छैनन् ।

चितुवाको आक्रमणमा परी ज्यान गुमाएका उदयदेव–९ मकैल ब्याल्धमका चञ्चला चन्द र उदयदेव–२ कफाडीका अञ्जली चन्दका परिवारले राहत तथा क्षतिपूर्ति नपाएका हुन ।

उदयदेव–९ का हीरा चन्दकी सात वर्षीया छोरी चञ्चलाको भदौ ४ गते र उदयदेव–२ का हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीको भदौ १८ गते चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

दुईटै बालिकाको साँझको समयमा आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले राहतका लागि पहल भइरहेको बताए ।

जिल्ला वन कार्यालयले भने क्षेत्रीय वन कार्यालय धनगढीले राहत दिने भएकाले केही ढिलाइ भएको जनाएको छ ।
क्षतिपूर्ति पाउनका लागि मृत भएको भनेर अस्पतालले दिएको शव परीक्षण कागज, प्रहरीको मुचुल्का, गाविस कार्यालयबाट मृतकका परिवारको नाता प्रमाणित गरेको प्रमाणपत्र र सामुदायिक वनको मुचुल्कापत्रलगायतका कागजपत्र आवश्यक पर्ने सहायक जिल्ला वन अधिकृत रामप्रसाद चौधरीले बताए ।

यसअघि वन तथा भू–संरक्षण मन्त्रालयले लागू गरेको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोगसम्बन्धी निर्देशिका, २०६९ अनुसार १४ मृतकका परिवारलाई रु एक लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको, छ मृतकका परिवारलाई रु तीन लाख का दरले राहत रकम उपलब्ध गराइएको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत चौधरीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार