विराटनगर । प्रदेश नं. १ को दोस्रो बैठकमा पनि सोलुखुम्बु १ ‘ख’ का सांसद बुद्धिकुमार राजभण्डारी सेलिब्रेटी बनेका छन् । प्रदेशसभाको दोस्रो बैठकमा खालिङ राईको पोशाकमा सहभागी भएका सांसद राजभण्डारी सेलिब्रेटी बनेका हुन् ।

प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकमा शेर्पा पोशाक छिवा (बक्खु) मा सहभागी भएका सांसद राजभण्डारी दोस्रो बैठकमा खालिङ राईको पोशाक भाङ्ग्रा, धजुरा फुर्का, दौरासुरुवाल र टोपीमा सहभागी भएका हुन् । सांसद राजभण्डारीले लगाएको पोशाकले पत्रकार, बैठक हेर्न आएका दर्शक र सांसदहरुलाई समेत आकर्षण गरेको थियो । उनीसँग सेल्फी र फोटो खिच्नका लागि केहि समय भिडभाड भएको थियो ।
निर्वाचनको बेला विपक्षी दलका नेता र केहि कार्यकर्ताहरुले झुटो जातिय नाराको आरोप लगाएकाले उनको क्षेत्रमा बसोबास गर्ने जातजातिको पहिचान झल्कने पोशाक लगाएर प्रदेशसभाको बैठकमा सहभागी भएर विपक्षीलाई जवाफ दिएको सांसद राजभण्डारीले बताए ।
यत्ति मात्र होइन पछिल्लो समयमा भड्किएको जातिय सद्भावलाई कायम गर्नको लागि समेत आफूले जातिय पहिचान झल्कने पोशाक लगाएर प्रदेशसभाको बैठकमा सहभागी भएको बताए । आफ्नो पार्टीले लिएको बहुपहिचानको आधारलाई टेकेर विभिन्न जातजातिको पोशाक लगाएर बैठकमा सहभागी भएको समेत राजभण्डारीले बताए ।

सांसद राजभण्डारीले पहिचान झल्कने पोशाक मात्र होइन जातिय सद्भाव कायम गर्नको लागि समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । विभिन्न जातजातिको समस्या, मुद्धालाई आफूले सकेको सम्बोधन र समाधान गर्दै समृद्ध सोलुखुम्बु बनाउने उनको महत्वकांक्षी योजना छ । ५ वर्षे कार्यकालमा सबै जातजातिको अपनत्व हुने गरी स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट बजेट विनियोजनको लागि सक्दो पहल गर्ने समेत उनले बताए ।

निर्वाचनको बेला आफूले गरेको बाचा अनुसार प्रदेशसभाको बैठकमा शेर्पा र खालिङ राईको पोशाक लगाएर बैठकमा सहभागी भएको उनको भनाई छ । प्रदेशसभाको तेस्रो बैठकमा तामाङको पोशाकमा सहभागी हुने समेत राजभण्डारीले बताए । आफ्नो निर्वाचन क्षेत्रमा बसोबास गर्ने जातजातिहरुको मात्र होइन नेपालमा बसोबास गर्ने जातजातिको पहिचान झल्कने पोशाक उपलब्ध भएसम्म लगाएर बैठकमा सहभागी हुने समेत उनले बताए ।
तस्वीर सौजन्यः दिनेश राजभण्डारी/विराटनगर
१ फाल्गुन २०७४, मंगलबार
672
Shares







