काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले १९ औं अन्तराष्ट्रिय मातृभाषा दिवसका अवसरमा आयोजना गरेको ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७४’ मा ३१ भाषाका ३५ कविता वाचन गरिएको छ ।

प्रसिद्ध भाषाशास्त्री प्राध्यापक डा. नोवलकिशोर राई प्रमुख अतिथि रहेको महोत्सवको सभाध्यक्षता प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित महोत्सवमा बाहिङ भाषाको कविता किशोर बाहिङ राईले वाचन गरेका थिए ।
https://youtu.be/o-pzUrgV_kw

त्यसैगरी कवि श्याम राईले वाम्बुले, प्रयास दुमी राईले दुमी, प्रतापसिंह नाछिरिङले नाछिरिङ, अजय अलङ्कारले कुलुङ भाषामा वाचन गरेका थिए । भानु सुनुवारले सुनुवार, गोमा जिमीले याक्खा, विष्णु याक्सोले लिम्बु भाषाको कविता वाचन गरेका थिए ।

त्यसैगरी कवि शीतल थोकर तामाङले तामाङ भाषामा ‘कोमेन्दो’ शीर्षक कविता वाचन गरेपछि कविता वाचन महोत्सव सुरु भएको थियो । त्यस्तै तामाङ भाषामै सजना गोले र इन्दु नेपाल योञ्जनले कविता वाचन गरेका थिए । त्यसैगरी मगरनी रामजिता र राकेश बिएमले खाम मगर, अमृता थापामगरले ढुट मगर, सविनसिंह चौधरीले अवधी, कृतिका केवरतले केवरत, छम गुरुङले गुरुङ, निशा चौधरी र उमेश चौधरीले थारु, पवनकुमार यादवले मैथिली, आशिक अलीले मैथिली, लक्ष्मी एडीले हुम्ली, दिलबहादुर कुमाल र अमृता कुमालले कुमाल, रजनी मिलाले नेपालभाषा, जगबहादुर बुढामगरले काइके मगर, धर्मेश जयसवालले भोजपुरी भाषाका कविता वाचन गरेका थिए ।

त्यस्तै, हीरामाया थामीले थामी, तेजेन्द्र ताजपुरियाले ताजपुरिया, टहल जिरेलले जिरेल, मोनालिशा धिमालले धिमाल, रोशन घलेले घले, माधव छन्त्यालले छन्त्याल, पेमा ग्याछो लामाले मुगाली, देवकुमार दुराले दुरा, भाषामा कविता सुनाएका थिए । सुरु हुनुअघि तामाङ, गुरुङ, थारु, राई, सुनुवार, लिम्बू, धिमाल, माझी लगायतका सांस्कृतिक झाँकीसहित टोलीहरुले बागबजार, पुतलीसडक हुँदै कमलादीसम्म ¥याली प्रदर्शन गरिएको थियो भने समारोहमा बाजागाजासहित नाच प्रस्तुत गरिएको थियो ।

युनेस्को महासभाले सन् १९९९ मा अन्तराष्ट्रिय मातृभाषा दिवस पारित गरेको थियो भने सन् २००० देखि विश्वव्यापी रुपमा मनाउन थालिएको हो । नेपालमा यो दिवस २०६८ सालदेखि निरन्तर मनाइदै आएको छ ।

प्रज्ञा प्रतिष्ठान माृतभाषा विभाग प्रमुख एवं कार्यक्रम संयोजक श्रवण मुकारुङले कुनै पनि भाषालाई विशिष्ट बनाउने काम कविताले गर्ने बताए । ‘आदिकवि भानुभक्त लगायत कविको कविताले गर्दा नै नेपाली भाषाले यति धेरै उचाइ पाएको हो,’ नेपालका लोपोन्मुख भाषा बचाउने काम सम्बन्धित समुदाय र राज्यको रहेको उल्लेख गर्दै भन्नुभयो, ‘राज्यले भाषा प्रतिउत्थान गर्न नीति नबनाएसम्म जातिले मात्रै बचाएर भाषा बच्न सक्दैन । अहिले जसरी कोरिया भाषा सिक्न लाइन लागेको हामी देख्छौ,’ त्यसैगरी राज्यले पनि नेपालको मातृभाषा सिक्यो भने यस्ता अवसरहरु पाउन सकिन्छ भनेर अवसरहरु सिर्जना गर्नुपर्छ ।’

कविता महोत्सवमा विभिन्न जातजातिको साँस्कृतिक नाँच पनि प्रदर्शन गरिएको थियो । वान्तावा राई, तामाङ, थारु, लिम्बु, देउडा खेल लगायत साँस्कृति नाँच प्रदर्शन गरिएको थियो ।
https://youtu.be/0chheKOYUA4











