७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता– एमाले अध्यक्ष ओली



ललितपुर, ३० भदौ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
एमाले जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र प्रविधिको विकासमा जोड नदिई मुलुकको विकास सम्भव नभएको बताउनुभएको हो ।
कक्षा १२ मा बाउन्न प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु मुलुककै लागि ठूलो क्षति हो भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा भएको एकाधिकार हटाउन पनि ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

वंशजका आधारमा नागरिकता पाएकाबाहेकलाई राष्ट्रका महत्वपूर्ण अङ्गमा प्रमुख जिम्मेदारी दिन नसकिने चर्चा गर्दै उहाँले भन्नुभयो– “सबै विवरण पुरा गरेकालाई नागरिकता दिन सकिएला तर राष्ट्रपति, सेनापति वा संवैधानिक अङ्गका प्रमुख बनाउन सकिँदैन ।”

विश्वका अन्य मुलुकका तुलनामा पनि हाम्रो संविधान समावेशी र सबैका लागि मान्य रहेको चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो– “९२ प्रतिशतले हस्ताक्षर गरेको संविधान भएकाले यसलाई अस्वीकार गर्नुको अर्थ छैन ।”
एमाले सधैँ अखण्डता र विकासको पक्षमा उभिएको बताउनुभएका अध्यक्ष ओलीले पार्टीका विभिन्न तहमा रहेर काम गरिरहेकाले पनि देशको समृद्धिका विषयमा सोच्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अन्य पार्टीका झन्डै ५० जना एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७३, बिहिबार  ९ : १४ बजे