५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

पत्रकारिता छाडेर बाख्रापालन



वालिङ, ३० भदौ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आउनुभएको छ ।

नेपाल टेलिभिजनमा १० वर्षे लामो पत्रकारिता पेसा छाडेर उहाँ तीन वर्षदेखि बाख्रापालनमा संलग्न हुनुुहुन्छ । उहाँले बीउ बोका उत्पादन गर्ने उद्देश्यले फार्म सञ्चालन गर्नुभएको हो । “बोका तथा पाठीको माग अत्याधिक छ,” ३५ वर्षीय लम्सालले भन्नुभयो ।

करिब रु ११ लाखको लागतमा ५० वटा माउ बाख्रा राखेर सुरु गर्नुभएको फार्ममा अहिले ७५ बाख्रा रहेका छन् । विशेष गरी स्थानीय खरी जातका माउ बाख्रा र बोयर, जमुनापारी र बारबरी जस्ता उन्नत जातका बाख्राको क्रसबाट बोका तथा पाठी उत्पादन गरी उहाँले बिक्री गर्दैआउनुभएको छ ।

बोयरको क्रसबाट उत्पादन भएको बीउ बोकाको मूल्य प्रतिकिलो रु ६०० र बारबरीबाट उत्पादन भएको बीउको मूल्य प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ । यहाँ उत्पादन भएका बीउ बोका तथा पाठी जिल्लाका फेदीखोला, अर्जुनचौपारी, वालिङ, स्याङ्जा तथा स्थानीय ठाउँमा नै खपत हुने गरेको छ ।

“वार्षिक रु पाँच लाखसम्म आम्दानी हुन्छ,” लम्सालले भन्नुभयो, “यस पेसाबाट म पूर्णरुपमा सन्तुष्ट छु ।” विदेशी भूमिका पसिना बगाउनका लागि विमानस्थलमा दैनिक युवाको लर्को लागिरहेको देख्दा दुःख लाग्ने गरेको तथा स्वदेशमै राम्रोसँग बुझेर जुनसुकै पेसा थालनी गरे पनि सफल भइने उहाँको धारणा छ ।

Sagarmatha

प्रकाशित मिति : ३० भाद्र २०७३, बिहिबार  १० : ४५ बजे