बर्सेनि उत्पादन घट्दै

0 Shares

जाजरकोट, ३० भदौ । नायकवाडा–७ का जयबहादुर सिंहले आफ्नो जमिनमा लगाएको मकै कुन जातको हो भन्नेसम्म थाहा पाउनुभएको छैन । उहाँले विगत सात वर्षदेखि पुरानो एकै जातको मकै रोप्दै आउनुभएको छ । जात नफेरी एकैखालको बीउ लगाउँदा बर्सेनि उत्पादनमा कमी आउनुका साथै रोगले सताउने गरेको छ ।

नयाँ जातको मकै रोप्नुको साटो धामीलाई कुन दिन मकै लगाउने र किन उत्पादन घट्यो भनेर कोटालो देवताका धामीसँग छलफल गर्न समय खर्चनुहुन्छ । धामीले देवता चढेको भन्दै कहिले छुइछाई भएको, कहिले बीउ सुकाउँदा नराम्रो मान्छेको आँखा लागेको भन्दै सुनाउने गर्छन् ।

सिंहले जस्तै खगेनकोट–५ का कालीबहादुर खत्रीले जमिनमा लगाउने बीउ कहिले पनि फेर्नुहुन्न, सधैँ एकैनासको बीउ लगाउँदा उत्पादन राम्रो नभएको उहाँलाई शङ्का लागेको छ । कालीबहादुर थाहा भए पनि कोसँग सल्लाह लिने भन्ने अन्योलता छ । जयबहादुर र कालीबहादुर मात्र होइन यहाँका अधिकांश किसानका पहुँचमा कृषि विकास कार्यालय र सेवा केन्द्र नहुँदा मारमा मारमा परेका छन् ।

वर्षांैदेखि एकैखालको बीउ प्रयोग गरेर उत्पादन राम्रो नभएको थाहा पाएर पनि उपयुक्त ज्ञानको अभाव र कृषि कार्यालय किसानको पहुँचभन्दा बाहिर भएकै कारण उचित सल्लाह सुझाव लिन नपाएको उनीहरुको भनाइ छ । पानी पर्नासाथ बीउ रोप्नुपर्छ भन्ने परम्परावादी ज्ञानका कारण यहाँका हजारौँ किसानको मेहनत खेर गएको हो ।

जिल्ला कृषि विकास कार्यालयमा नयाँ नयाँ जातका बीउ आए पनि ग्रामीण क्षेत्रका किसानलाई त्यसबारे थाहा नहुने भगवती गाविसका किसान मोहन बस्नेत बताउनुहुन्छ । माटोको अम्लियपन कती छ, कति मल प्रयोग गर्दा राम्रो हुन्छ, अनि प्रतिबिरुवाको दूरी कति हुन्छ भन्नेसम्म थाहा नपाई पुरानो शैलीमा खेतीपाती गर्दा किसिनको दुःख खेर गएको छ ।

कृषि कार्यालयका कुरा किसानसम्म नपुग्ने र किसानका कुरा कृषि कार्यालयसम्म नपुग्दा समस्या जहाँको त्यही छ । सेवा केन्द्रमा पर्याप्त कर्मचारी नहुँदा पनि समस्या भएको हो । पहुँचवाला र सेवा केन्द्र नजिकका किसानले मात्र कृषि कार्यालयको सेवा उपभोग गर्न पाएको उपभोक्ताको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार