ओखलढुंगा– ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. ९ कटुञ्जेमा काम थालेको पाँचौ दिनमा विजुली बत्ति झलमल भएको छ । सौर्य विद्युत जडानको काम शुरु गरेको पाँच दिनमै कटुञ्जेको कोष भञ्ज्यांगमा विजुली बल्न शुरु भएको हो ।
गीभपावर फाउण्डेशन अमेरीकाको २० लाख अनुदान, गाउँ पालिकाको समपुरक कोष र समुदायको श्रमदानसहित गरि ३१ लाख रुपैँया बराबरको लागतमा ६ किलोवाट क्षमताको सौर्य बत्तीको उद्घाटन भएका छन् ।

जडान गरिएको बत्तिको एक कार्यक्रमका बिच उद्घाटन गर्दै गीभपावर फाउण्डेशन अमेरीकाका कार्यकारी निर्देशक ब्यारिटले पहाडी तथा तराई भेगका खानेपानी तथा वत्तिको समस्या भएको क्षेत्रहरुमा आफुहरुले काम गर्ने बताउनुभयो । फाउण्डेशनले केही रकम लगानी गरेर केही रकम भने स्थानीय तह र समुदायका तर्फबाट नै बेहोर्नु पर्ने पनि उहाँले बताउनुभयो । वडा नं. ९ का अध्यक्ष झनक कार्कीको निरन्तर पहल र उपभोक्ता समितिको सहयोगबाट बिजुली बाल्ल सकिएको स्थानीय बासिन्दाले बताएका छन् । काम थालेको पाँचौं दिनमै सम्पन्न गर्न योगदान गरपछि वडा अध्यक्ष कार्कीलाई दातृ निकायका प्रतिनिधीहरुले धन्यावाद समेत दिएका छन् ।
‘समुदायमा उर्जा कार्यक्रम अन्तर्गत कोषभञ्ज्यांग सोलार ग्रीड परियोजना सुनकोशी गाउँपालिका वडा नं. ९ कटुञ्जे कोषहाटमा सञ्चालन गरिएको छ । परियोजना अन्तर्गत अहिले २० ओटा सोलर पाता र १६ वटा ब्याट्री जडान गरिएको छ । यो सोलार सिस्टमवाट ६ किलोवाट विद्युत उत्पादन भएको छ । यसवाट यहाँका ३० घरधुरीका १ सय पचास जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
उद्घाटन कार्यक्रममा सुनकोशी गाउँ पालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले आफ्नो गाउँ पालिकामा विदेश देखी आएर सौर्य विद्युत उत्पादन गरेर वितरण गरेकोमा गीभपावर फाउण्डेशन अमेरीकाको टिमलाई धन्यवाद दिनुभयो । यहाँका नागरिकहरुका लागि विद्युत् नहुँदा एक प्रति फोटो कपी गर्न पनि २ घण्टा धाएर २० रुपैया सम्म तिर्नु पर्ने बाध्यता थियो । उक्त योजना सम्पन्न गर्न १२ जना अमेरीकी नागरिकहरुले श्रमदान गरेका थिए । परियोजना काम स्वीकृत गरेर काम थाल्न भने तीन महिना लागेको थियो तर, काम थालेको पाँचौं दिनमै बत्ति बलेपछि स्थानीय बासिन्दा दंग छन् ।







