भूकम्पीय जोखिम न्यूनीकरण गर्न भवनसंहिता कार्यान्वयनको माग

0 Shares

काठमाडौँ, ३१ भदौ । विगतमा गएका भूकम्पको अनुभवका आधारमा उपत्यकामा भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवनसंहिता कार्यान्वयन गरिनुपर्नेमा जोड दिइएको छ ।

सहरी विकास मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, खानी तथा भूगर्भ विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘उपत्यकामा भूकम्पीय जोखिम न्यूनीकरण’ विषयक गोष्ठीमा यस विषयमा जोड दिइएको हो ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले प्रकोपलाई विकाससँग जोडेर नीति निर्धारण गरिनुपर्ने बताउनुभयो । “प्रकोपसँग सम्बन्धित नीति नहुँदा विकास निर्माणमा प्रभाव परेको छ, प्रकोपले विकासमा बाधा पु¥याउँछ, अब यससम्बन्धी नीति निर्माण गरी कार्यान्वयनमा ल्याइनुपर्छ” – उहाँले भन्नुभयो ।

प्रकोपको क्षति न्यूनीकरणका लागि इन्जिनियरिङमा ध्यान दिई यससम्बन्धी शिक्षा स्थानीय तहसम्म पु¥यानुपर्ने सचिव शर्माको भनाइ थियो ।

जाइकाको सहयोगमा सञ्चालित काठमाडौँ उपत्यका प्रकोप न्यूनीकरण आयोजना प्रमुख एवम् मन्त्रालयका सहसचिव शिवहरि शर्माले गोरखा भूकम्पलगत्तै जोखिम न्यूनीकरणको काम सुरु गरिएको जानकारी गराउनुभयो ।

“विगतमा गएका भूकम्पको मूल्याङ्कन गरी आगामी जोखिम न्यूनीकरणका लागि तयारी गर्नुपर्छ, विसं २०५८ देखि जाइकाको सहयोगमा विगतका भूकम्पको अध्ययन सुरु भएको हो, ललितपुर उपमहानगरपालिका, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका र भक्तपुर नगरपालिकामा नमुनाका रुपमा काम सुरु भएको छ” – उहाँले भन्नुभयो ।

जनसङ्ख्या धेरै भएका २२ नगरपालिका र चार गाउँ विकास समितिमा यो कार्यक्रम विस्तार गर्ने योजना रहेको सो अवसरमा जानकारी गराइयो ।

पृथ्वी विज्ञान र प्रकोप न्यूनीकरणका लागि राष्ट्रिय अनुसन्धान प्रतिष्ठान जापानका डा सुनेओ ओशुमीले जापानमा भवनसंहिता लागू हुँदा मानवीय क्षति न्यून भएको र लागू नहुँदा क्षति बढी भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा खानी तथा भूगर्भ विभागका कार्यबाहक महानिर्देशक राजेन्द्रप्रसाद खनाल, शोधकर्ता डा सतोरु निशिकावा, खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा सोमनाथ सापकोटा, सहरी विकास मन्त्रालयका उपसचिव सुमन सालिके, स्थानीय विकास मन्त्रालयका उपसचिव ऋषिराज आचार्य, नेपालका लागि जाइकाका प्रमुख प्रतिनिधि जुन साकुमा आयोजना प्रमुख ¥योजी ताकाहाशीलगायतका वक्ताले भूकम्पीय जोखिम न्यूनीकरणका लागि पूर्वतयारी महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

अध्ययन प्रतिवेदन नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गरी जागरणका लागि प्रकाशित गरिने जानकारी पनि सो अवसरमा दिइयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार