३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

सुपथ मूल्य पसल सञ्चालन



काठमाडौँ, १ असोज । आपूर्तिमन्त्री दीपक बोहराले सरकारले व्यापारीलाई म्याद सकिएको तथा मिसावट भएका उपभोग्य सामग्री कुनै हालतमा बिक्री गर्न नदिइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

ठूला चाडपर्वका अवसरमा सरकारले खोलेको सस्तो बजारको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – बजारमा आफू खुसी मूल्यवृद्धि गरी सामान बिक्री गर्ने व्यापारीलाई कडा सजाय हुने कानून तर्जुमा गर्ने गृहकार्यमा सरकार लागेको छ ।

मन्त्री बोहराले दसैँ, तिहार र छठ पर्वमा जनतालाई सुलभ मूल्यमा अत्यावश्यक उपभोग्य सामग्री बिक्री गर्ने काम सरकारीस्तरवाट सुरु गरिने बताउँदै मुख्य चाडपर्वका वेला नीजि तथा ठूला डिपार्टमेन्टल स्टोरले पनि सहुलियत दरमा सामान बिक्री गर्ने कार्य सुरु गर्नुपर्नेमा जोडदिनुभयो ।

उहाँले मूल्यवृद्धि गर्ने व्यापारीका बारेमा सूचना दिएमा सरकारले तत्कालै कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले दसैँ, तिहारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट सर्वसाधारण, मध्यम तथा गरिब वर्गका जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

Sagarmatha

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धिताल, दुग्ध विकास संस्थानका महाप्रबन्धक गङ्गा तिमिल्सिना, नेसनल ट्रेडिङ लिमिटेडका सञ्चालक समितिका अध्यक्ष धनबहादुर बुढा, नेपाल खाद्य संस्थानका महाप्रबन्धक डा शिव श्रेष्ठलगायतले जनताको सुविधाका लागि नै आफूहरुले सुलभ मूल्यमा उपभोग्य सामान उपलब्ध गराएको बताउनुभयो ।

सो अवसरमा खाद्य संस्थानले आफूले बिक्री गर्ने सबै खाद्य वस्तुमा पाँच प्रतिशत, नेसनल ट्रेडिङ लिमिटेडले ३० देखि ७० प्रतिशत तथा निजी क्षेत्रबाट सञ्चालित ठूला डिपार्टमेन्टल स्टोरले १५ प्रतिशत छुट दिइने जानकारी दिइयो ।

नेसनल ट्रेडिङको भवनमा ११ वटा बिक्री कक्ष तथा सहरका विभिन्न भागको २४ स्थानमा सुपथ मूल्यका पसल तथा ‘मोबाइल भ्यान’बाट पनि सहरको चोकचोकमा सुपथ मूल्यमा उपभोग्य सामग्री बिक्री गर्ने व्यवस्था मिलाइएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक धितालले राससलाई जानकारी दिनुभयो ।

सुपथ मूल्य पसल आगामी कात्तिक २१ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १ आश्विन २०७३, शनिबार  १० : ०३ बजे