काठमाडौँ, अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के। सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज काठमाडौँ उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ध्यानाकर्षण गराए ।

अभियानका संयोजक मचाराजा महर्जनले नरदेवीमा बनाउन खोजिएको एकीकृत वस्तीको योजना र अहिलेसम्म भएका काम कारवाहीबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएको थियो ।
प्रत्युत्तरमा मुख्यमन्त्री पौडेलले एकीकृत वस्तीबारे विस्तृत योजना, लागतका साथै त्यसमा स्थानीय जनताको पूरापूर सहमति भए यस्तो योजनालाई परिणाममुखी बनाउन सकिने वचन दिएको थियो ।
अधिकारकर्मी मल्लले ऐतिहासिक आधार एवं पुष्ट्याइँ र जनभावनाको कदर हुने गरी प्रदेश नं ३ को नामकरण गर्ने काममा मुख्यमन्त्रीको सकारात्मक पहलकदमीका लागि आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री पौडेलले नामकरणको विषयमा प्रदेशसभाकै निर्णय सर्वोपरी हुने भएकाले उसैको जिम्मामा छाड्नु पर्ने धारणा व्यक्त गरेको थियो ।
प्रतिनिधिमण्डलमा प्रदेश नं ३ का सांसद वसन्त मानन्धर र नेवाः जागरण मञ्चका संयोजक सुजीव बज्राचार्य पनि थिए ।







