शङ्करपुरका बाढीपीडितको एक दशकदेखि जङ्गलमै बास

Facebook Debugger

कञ्चनपुर, ५ असोज । पुनःस्थापनाको कार्य नहुँदा एक दशकदेखि कञ्चनपुरको शङ्करपुरका बाढीपीडित परिवार जङ्गलमै बस्न बाध्य भएका छन् ।

दोदा नदीको बाढीले विसं २०६५ देखि हालसम्म गरी शङ्कपुरका १६३ परिवारको २५० बिघा दर्ता जग्गा बगाई पूर्णरुपमा विस्थापित बनाई जङ्गलमा छाप्रो बनाएर बस्न बाध्य पारेको हो । स्थानीयवासीका अनुसार दोदा नदीले २०६५ सालमा शङ्करपुर गाविसको ७ नम्बर वडा नै बगाएको थियो ।

दोदा नदीले घरजग्गा बगाएपछि विस्थापित परिवार शोभातालको डाँडामा बस्दै आएका छन् । एक दशकदेखि जङ्गलमा बस्दै आए पनि पुनःस्थापनका लागि कुनै निकायले चासो नदिँदा कष्ट सहेर बस्नु परेको विश्राम रानाले बताउनुभयो । “दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका बाढीपीडित परिवारका बालबालिका आर्थिक अभावले विद्यालय जानसमेत सकेका छैनन्,” उहाँले भन्नुभयो ।

आर्थिक रुपमा सम्पन्न भएका बसाइँ सरेर अन्यत्र गए आर्थिक रुपमा विपन्न परिवार जङ्गलमै बस्दै आएको उहाँले बताउनुभयो । नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जग्गमा बालुवाले पुर्दा काम नलाग्ने भएको शङ्करपुर–८ का बालकृष्ण डगौराले बताउनुभयो । यस वर्ष मात्रै चार दिनको दोदा नदीमा आएको बाढीले शङकरपुर–७ र ८ का स्थानीय बासिन्दाको दुई बिघा १० कट्ठा जमिन बगाएको गाविसका सचिव सुरेन्द्र चन्दले बताउनुभयो ।

जग्गा कटानी र बस्ती जोगाउनका लागि तटबन्ध निर्माणको कार्यलाई निरन्तर रुपमा अगाडि बढाउनु जरुरी रहेको उहाँको भनाइ छ । यहाँका स्थानीयवासीले स्थायी प्रकृतिको तटबन्ध निर्माणको कार्यलाई यथाशीघ्र अगाडि बढाइनुपर्ने माग गरेका छन् । “दोदाबाट शङ्करपुर–८ र ९ उच्च जोखिममा छन्”, काशिराम जोशीले भन्नुभयो, “जनताको तटबन्ध कार्यालयले रु १४ करोडको लागतमा दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ, यसलाई अझै सबै क्षेत्रमा विस्तार गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

कञ्चनपुरका आठ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, वाइसेविचवा, कालिका, त्रिभुवनबस्ती तथा परासनमा दोदा नदीले बर्सेनि क्षति पु¥याउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाभरिमा ३५० भन्दा बढी पीडित रहेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार