ओखलढुंगाः सिद्धिचरण नगरपालिका वडा नं. ८ सल्लेरीको समग्र विकास र सुशासनका बारेमा जनप्रतिनिधी र स्थानीय सरोकारवालाहरुका बीच बहस भएको छ । इन्सेकले आयोजना गरेको वडा कार्यालयले प्रवाह गरेको सेवा विषयक सार्वजनिक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले वडा नं. ८ सल्लेरीको विकास र सुशासनका बारेम ाबहस गरेका हुन् । 
कार्यक्रममा वडा अध्यक्ष हेम तामाङले वडामा भूकम्प पीडितहरुका समस्या अझै यथावत् रहेको बताउँदै दोस्रो र तेस्रो किस्ता लिन बाँकी हरेका पीडितहरुलाई छिटो दिलाउन पहल गर्ने बताए । वडामा सञ्चालित योजनाहरु पारदर्शी बनाउन अनुगमन गर्ने, सुचना पाटी राख्ने प्रतिबद्धता जनाए ।
वडा सचिव अरुणा गुरुङले वडा सचिव र स्वास्थ्य संस्थामा दोहोरो काम गर्नु पर्दा सेवा प्रवाहमा समस्या रहेकाले सचिवको व्यवस्था हुनुपर्ने बताइन् । अनमीलाई यहाँ सचिव तोकिएको छ ।
स्थानीय समाजसेवी रत्न प्रसाद चौलागाइले विद्यालयमा शिक्षक व्यवस्थापन नभएकाले शैक्षिक गुणस्तर खस्केको बताए । वडाले यसमा ध्यान दिनु पर्ने बताए । नेकपाका नेता बुद्धिमान तामाङले वडामा कृषि तथा पशु प्राविधक नहुँदा किसानले पशू तथा खाद्य बालीमा रोग लाग्दा उपचार गर्न नपाएको बताए । 
काँग्रेसका नेता दण्डी प्रसाद चौलागाइले स्वास्थ्य चौकी पुनः निर्माण गर्न वडाले भूमिका खेलन सुझाव दिए । स्थानीय मकरबहादुर गुरुङ गुनासा भरेर पनि गैर लाभग्राही भनिएका भूकम्प पीडितहरुलाई अनुदान दिन र वडा नं. ८ मा गएको डरलाग्दो पहिरो नियन्त्रण गर्नु पर्नेमा जोड दिए ।
सेवाग्राही र सेवाप्रदायकलाई एकै ठाउँमा राखेर छलफल गराइ समस्या पहिचार र समाधान गर्न सहयोग गरेको भनी सहभागीहरुले इन्सेकलाई धन्यवाद दिए । आगमी दिनमा बृहत रुपमा यस्ता कार्यक्रम जिल्ला स्तरमा संचालन गरेर गुनासा राख्ने र समाधान गर्ने अबसर ल्याउन पनि माग गरे । वडा कार्यालयका तर्फबाट भूकम्प पीडितले पाउने दोस्रो र तेस्रो किस्ता छिटो उपलब्ध गराउन, गुनासा छानविनबाट गैरलाग्राहीमा परेका पीडितलाई पुनरावेदन गराउन, वडामा सञ्चालित वडाका योजनाको पारदर्शीता कायम गराउने प्रतिबद्धता जनाइएको छ ।
कार्यक्रममा वडा अध्यक्ष हेम तामाङ, नगर कार्यपालिका सदस्य अनिता गुरुङ, वडा सचिव अरुणा तामाङ, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका इन्जिनियर सुरेन्द्रकुमार शाह लगायतका व्यक्ति जवाफदेही वक्ताका रुपमा सहभागी थिए । अन्य विषयग शाखाका कर्मचारी, वडा सदस्यहरु, भूकम्प पीडित तथा सेवाग्राही, शिक्षक तथा बुद्धिजीवी सहभागी थिए । सार्वजनिक सुनुवाइको जवाफदेही वक्ताको आसन ग्रहणपछि उद्देश्य तथा कार्यक्रम सञ्चालनको प्रकृयाका बारेमा जानकारी गराउँदै इन्सेक प्रतिनिधीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सरोकारवालाहरुले वडाको विकास र शुसासनका लागि निकालेको निचोडका मुख्य बुँदा यस्ता छन् । उल्लेखित विषय सम्बोधन गर्ने गरि वडा तथा नगरबाट योजना र बजेट व्यवस्थापन गर्न सरोकारवालाहरुले जोड दिएका थिए ।
यस्ता छन् प्रस्ताव:
१.चम्पादेवी मन्दिरजाने बाटोदेखी भ्यूटावर निर्माण स्थलसम्म सिढ िनिर्माण गरेर धार्मीक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने ।
२. वडाभरि विद्युत तथा खानेपानी विस्तार ।
३. तालिम, कृषि औजार तथा कृषि र पशुका प्राविधक गाउँमै राखेर कृषि पकेट क्षेत्रका रुपमा विस्तार ।
४. ओखलढुंगा सल्लेरी सडकको स्तरोन्नति ।
५. प्रस्तावित माविका रुपमा रहेको चम्पादेवी माविको स्तरबृद्धि, १–१२ सञ्चालन र शिक्षक व्यवस्थापन ।
६. तिल खोरिया पहिरो नियन्त्रण
७ भूकम्प पीडितले पाउने सेवा सुविधा समयमै दिन वडा तथा जिल्ला तहमा पहल ।
८. सडकमा परेका जग्गाको क्षेत्रफल छुट्याएर लगत कट्टा गर्नु पर्ने ।








