२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

भारतको सहयोगमा उमावि र क्याम्पस भवन बन्ने



पोखरा, ७ असोज । भारत सरकारको सहयोगमा पोखरा उपमहानगरपालिका–१७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस र लेखनाथ नगरपालिका–१७ स्थित सरस्वती टीका उच्च माविमा पक्की भवन बन्ने भएको छ ।

भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसको २१ कक्षा कोठा १० शौचालयसहितको तीनतल्ले भवन तीन करोड ८९ लाख २९ हजार ६८३ रुपैयाँमा बन्ने जिविस कास्कीका इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरस्वती टीका उच्च माविको दुईतल्ले भवन कम्पाउन्ड वाल, पाँच कक्षा कोठा, सभा कक्ष, विज्ञान प्रयोगशाला, स्टाफ कोठा र फर्निचरसहित तीन करोड ३६ लाख ३२ हजार ५३७ रुपैयाँमा निर्माण हुनेछ । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवन आगामी सन् २०१७ को अक्टोबर २८ मा र सरस्वती टीका उच्च माविको भवन सन् २०१७ को अक्टोबर २९ भित्रमा सम्पन्न गरिसकिने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो ।

क्याम्पस एवम् विद्यालय भवनको बिहीबार छुट्टाछुट्टै आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले शिलान्यास गर्नुभयो । नेपाल र भारतबीच युगौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उहाँले शान्ति, स्थिरता र समृद्धिको लक्ष्यमा दुवै देश लागिरहेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको बताउँदै उहाँले पछिल्ला समयमा भएका नेपालका गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताउनुभयो ।

आगामी दीपावलीपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुने सम्भावना रहेको जानकारी दिँदै उहाँले त्यसपछि नेपालका राष्ट्रपतिको भारत भ्रमण हुने बताउनुभयो । सांसद विन्दा राना मगरले भारत सरकारबाट जिल्लाका क्याम्पस एवम् विद्यालयमा अत्यावश्यकीय भवन निर्माणमा सहयोग गर्नु सराहनीय भएको बताउँदै यसले गुणस्तरीय शिक्षा प्राप्तिमा पनि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

उहाँले पछिल्ला दिन पोखरामा परेको अविरल पानीका कारण कटान गरी क्षति पु¥याएको पोखरा–१७ दोविल्ला र पोखर–२३ निर्मलपोखरी जोड्ने पुल तथा आसपासको बस्ती तत्काल संरक्षण गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिहेको जानकारी दिनुभयो ।

सांसद दिलबहादुर नेपालीले भारत सरकारबाट भएको यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय विकास अधिकारी दामोदर भण्डारीले निर्माणाधीन क्याम्पस एवम् विद्यालय भवन निर्धारित समयमा नै निर्माण सम्पन्न गरिने बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भौतिक पूर्वाधारको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शैक्षिक संस्था अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।

गुप्तेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख घनश्याम तिवारी, सरस्वती टीका उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, लेखनाथ नगरपालिका कार्यालयका कानुन अधिकृत राममणि अधिकारी लगायतले भौतिक पूर्वाधार निर्माणले विद्यालयमा अध्ययन अध्यापन कार्य सहज बन्नुका साथै यसले शैक्षिक गुणस्तरियता कायम गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति : ७ आश्विन २०७३, शुक्रबार  ३ : ५१ बजे