काठमाडौँ, १० असोज । प्रेस सेन्टर, नेपाल राष्ट्रिय समाचार समितिको अध्यक्षमा पत्रकार रत्नकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
सेन्टरको आज सम्पन्न चौथो एकता सम्मेलनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सेन्टरको उपाध्यक्षमा दिलीप शर्मा, सचिवमा सुशील दर्नाल, कोषाध्यक्षमा शशीधर अधिकारी र सदस्यहरुमा प्रदीपराज वन्त, महेन्द्र सुवेदी, अशोक घिमिरे, राजु विश्वकर्मा, राजेन्द्र पनेरु, मुना कार्की र अञ्जली रम्तेल निर्वाचित हुनुभएको हो ।
यसैगरी, सम्मेलनले केन्द्रीय परिषद् सदस्यमा हरि लामिछाने, युवराज पाण्डे, प्रेमप्रसाद उपाध्याय र शशीधर अधिकारीलाई निर्वाचित गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि सञ्चार क्षेत्रको पुनःसंरचना आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै राससको उन्नतिका लागि सङ्गठन र सेन्टरले एकआपसमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, नवनिर्वाचित अध्यक्ष श्रेष्ठले राससका पत्रकार तथा कर्मचारीको हकहितमा आफूले सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सबैको सहयोग अपेक्षित भएको बताउनुभयो ।







