१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

रामेछाप पुगेर मन्त्री ढुंगेलले भने, ‘सरकारको समृद्धिको नारालाई सबैले मिलेर पूरा गर्नुपर्छ,’



रामेछाप । प्रदेश नं ३ का आर्थिक मामिला एवं योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारले ल्याएको समृद्धिको नारालाई सबैले मिलेर पूरा गर्नुपर्ने बताएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछापको नवौँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनको शनिबार मन्थलीमा उद्घाटन गर्दै उनले सरकारले गल्ती गरेको भए औँल्याइदिन र राम्रा कामलाई बोकेर हिँड्न सबैमा आग्रह गरे ।

मन्त्री ढुङ्गेलले दुई तिहाइको वर्तमान सरकार समृद्ध नेपाल खुशी नेपालीको सङ्कल्पका साथ अगाडि बढिरहेको चर्चा गर्दै नेपालको लोकतान्त्रिक र सामाजिक आन्दोलनमा गैरसरकारी संस्थाले महत्पूर्ण भूमिका निर्वाह गरेको बताए । यसैगरी मन्त्री ढुङ्गेलले रामेछाप र दोलखका जिल्ला हेर्ने गरी रामेछापको सदरमुकाम मन्थलीमा स्थापना भएको कृषि ज्ञान केन्द्रको आज उद्घाटन गर्दै कृषिमा अब व्यवसायीकरण हुनुपर्नेमा जोड दिए ।
फलफूल, तरकारी र मसला बालीमा जोड दिनुपर्ने बताउँदै उनले व्यावसायिक कृषिका योजनालाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । केन्द्रका कार्यालय प्रमुख सूर्यप्रसाद बरालले रामेछापका ८ र दोलखाका ९ गरी १७ वटा स्थानीय तहलाई कार्यक्षेत्र बनाई स्थापना भएको केन्द्रमा १६ जना कर्मचारीको दरबन्दी भए पनि हालसम्म ८ जना कर्मचारीमात्र उपलब्ध भएको जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार  ४ : ०९ बजे