पर्यटकको चहलपहल शुरु भयो सगरमाथा क्षेत्रमा

  बुद्धवीर बाहिङ
0 Shares

सोलुखुम्बु, ११ असोज । असोज महिनाको शुरुवातसँगै सगरमाथा क्षेत्रमा पर्यटकहरुको चहलपहल शुरु भएको छ । तीन वर्षको तुलनामा यस वर्षको अटम सिजनको शुरुवातमै उल्लेख्य पर्यटकको चहलपहल बढेको हो ।
पर्यटकीय क्षेत्र चौंरीखर्क गाविसको लुक्ला बजार, फाक्दिङ, जोरसल्ले क्षेत्रमा विदेशी पर्यटकहरुको आवतजावत बढेको जोरसल्लेका होटल व्यवसायी दावाजाङ्मु शेर्पाले बताए । त्यसैगरी नाम्चे गाविसको नाम्चेबजार, ठमो, थामे, थामेतेङ लगायतका क्षेत्रमा पनि विगत ३ वर्षको तुलनामा यस वर्ष पर्यटकहरुको आवतजावत केहि बढेको ठमोका होटल व्यवसायी मिङ्माछम्जी शेर्पाले बताए ।
उता खुम्जुङ गाविसको ग्रीनभ्याली, फोर्चे, मछेर्मो, गोक्यो, ठाङनाक, जोङला, स्याङबोचे, पाङबोचे, दिङबुचे, फेरिचे, छुकुङ, लबुचे र गोरक्सेपमा पनि पहिलेको वर्षभन्दा यस वर्ष पर्यटकहरुको चहलपहल बढेको होटल जोङ्ला ईनका प्रोपाइटर आङनुरु शेर्पाले बताए । पर्यटकीय सिजनको सबैभन्दा उत्तम सिजन मानिएको अटम सिजनमा सगरमाथा क्षेत्रमा सबैभन्दा बढी पर्यटकहरु आउने भएपनि भूकम्पले गर्दा अघिल्लो वर्ष उल्लेख्य रुपमा पर्यटक नआएको पर्यटन व्यवसायीको भनाई छ ।
अहिले काठमाडौंबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा दैनिक १ सय देखि १ सय ५० जनासम्म पर्यटकहरु सगरमाथा क्षेत्रको भ्रमणमा जाने गरेका छन् । त्यसैगरी दोलखाको जीरी हुँदै दैनिक १५ देखि २० जनासम्म पर्यटकहरु पैदल हिडेर सगरमाथा क्षेत्रको भ्रमणमा जाने गरेको स्थानीय होटल व्यवसायीहरुले बताए ।
भूकम्पपछि तङ्ग्रीदै गरेको सगरमाथा क्षेत्रको पर्यटन व्यवसाय अघिल्लो वर्षभन्दा यस वर्ष सन्तोषजनक रहने स्थानीय पर्यटन व्यवसायीको भनाई छ । ‘अटम सिजनको शुरुवातमै सगरमाथा क्षेत्रमा विदेशी पर्यटकको चहलपहल सन्तोषजन भएकाले यस वर्ष पहिलेको वर्षभन्दा धेरै पर्यटकहरु खुम्बु क्षेत्रमा घुम्न आउने विश्वास गर्न सकिने अवस्था छ’ होटल एभ्रेष्टभ्यूका म्यानेजर आङनुरु शेर्पाले भने ।
1-sagarmatha-photo-1
नाम्चेबजार जाने क्रममा तोपडाँडामा विश्राम लिदै पर्यटकहरु ।
1-sagarmatha-photo-2
खुम्जुङस्थित क्याङजुमाहुँदै सगरमाथा आधारशिविर हिडेका पर्यटकहरु, पृष्ठभूमिमा सगरमाथा, लोत्से लगायत हिमश्रृंखलाहरु ।
1-sagarmatha-photo-3
सगरमाथा क्षेत्रको भ्रमणमा जाने क्रममा पाङबोचेमा पर्यटकहरु ।
1-sagarmatha-photo-4
खुम्जुङस्थित स्याङ्मा जाँदै पर्यटकहरु, पृष्ठभूमीमा आमाडब्लम हिमाल ।
1-sagarmatha-photo-5
थुक्लास्थित होटलमा विहानको न्यानोघाम ताप्दै पर्यटकहरु, पृष्ठभूमीमा चोलाच्चे हिमाल ।
1-sagarmatha-photo-6
खुम्जुङस्थित लबुचे र गोरक्सेप बीचको ग्ल्यासियर पार गर्दै पर्यटकहरु ।
1-sagarmatha-photo-7
सगरमाथा क्षेत्रको अन्तिम मानव वस्ती गोरक्सेपमा पर्यटकहरु । तस्वीर : बुद्धवीर बाहिङ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार