३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

१०  करोड बजेटमा बन्ने चलचित्र ‘नेक्सस’ को छायांकन पुसदेखि, क्यानडा जाँदै निर्माण टिम


२९ आश्विन २०८३, बिहिबार  

28
Shares

काठमाडौं । करिब १० करोड रुपैयाँको बजेटमा निर्माण हुने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘नेक्सस’ को छायांकन आगामी पुस महिनादेखि सुरु हुने भएको छ। क्षितिज फिल्मस् प्रा। लि। को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको लेखन तथा निर्देशन जीवन थापा ‘क्षितिज’ ले गर्ने भएका छन् भने निर्माणको जिम्मेवारी सफल व्यवसायी तथा अनुभवी निर्माता बिनोद कोइरालाले सम्हालेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा फैलिएको तस्करीको सञ्जाल (स्मग्लिङ नेटवर्क) र त्यसलाई तोड्न विभिन्न देशले गर्ने प्रयासको कथावस्तुमा आधारित चलचित्र ‘नेक्सस’ लाई अन्तर्राष्ट्रिय बजारसमेत लक्षित गरेर निर्माण गर्न लागिएको हो। चलचित्रको छायांकन भारत, चीन र क्यानडामा गरिने तयारी छ। नेपाली भाषासँगै हिन्दी, चिनियाँ र अंग्रेजी भाषामा समेत चलचित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ।
छायांकनका लागि उपयुक्त लोकेसनको छनोट तथा कलाकारहरूको टुंगो लगाउन निर्माण टोली चाँडै क्यानडा जाने तयारीमा रहेको छ। चलचित्रमा रहने कलाकारहरूको छनोट अन्तिम चरणमा पुगेको र केही दिनभित्रै औपचारिक घोषणा गरिने निर्माण पक्षले जनाएको छ। चीन र क्यानडाका केही कलाकारहरूको छनोट भने बाँकी रहेको छ।
चलचित्रका लेखक तथा निर्देशक जीवन थापा ‘क्षितिज’ नेपाली चलचित्र, रङ्गमञ्च तथा अभिनय प्रशिक्षण क्षेत्रमा डेढ दशकभन्दा बढी समयदेखि सक्रिय सर्जक हुन्। लेखन, निर्देशन र अभिनयमा अनुभव हासिल गरेका उनी अभिनय प्रशिक्षकका रूपमा समेत कार्यरत छन्। उनले रङ्गमञ्चमा विभिन्न नाटकमार्फत काम गर्नुका साथै तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा सिर्जनात्मक योगदान पुर्‍याइसकेका छन्। चलचित्र तथा अन्य दृश्य माध्यममा काम गर्दै आएका उनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा निर्णायक (जुरी) को भूमिकासमेत निर्वाह गरिसकेका छन्।
थापा ‘क्षितिज’ ले लेखन तथा अभिनयमा योगदान पुर्‍याएको चलचित्र ‘खुल्ला आकाश’ बक्स अफिसमा सफल हुनुका साथै विभिन्न चलचित्र महोत्सवहरूमा छनोट भएको थियो। त्यस्तै, ‘अन्तिम पाना’ चलचित्रका लागि उनले सन् २०२१ मा दुबईमा आयोजित ग्लोबल इन्टरनेसनल अवार्डमा उत्कृष्ट पटकथा लेखकको अवार्ड प्राप्त गरेका थिए। उनले लेखन तथा निर्देशन गरेको ‘थातथलो’ वेब सिरिजलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यसहित काम गरेका छन्। चलचित्र, वेब सिरिज, रङ्गमञ्च र अभिनय प्रशिक्षणमा हासिल गरेको अनुभवलाई अब उनले ‘नेक्सस’ मार्फत अन्तर्राष्ट्रिय स्तरको कथावस्तुमा प्रस्तुत गर्ने भएका छन्।
चलचित्रका निर्माता बिनोद कोइराला चलचित्र निर्माणसँगै सफल व्यावसायिक पृष्ठभूमिका व्यक्तित्वका रूपमा पनि परिचित छन्। काठमाडौंमा आफ्नै गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएका कोइरालाले भारत र चीनबाट कच्चा पदार्थ आयात गरी कपडा उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन्। नेपालसँगै बेलायत, अमेरिका, अस्ट्रेलिया र क्यानडालगायतका अन्तर्राष्ट्रिय बजारमा समेत उत्पादित कपडाको व्यापार गर्दै आएका उनी उद्योग–व्यवसाय र चलचित्र निर्माणलाई सँगसँगै अघि बढाइरहेका छन्।
कोइरालाको निर्माण संलग्नतामा ‘मंगले’, ‘धनुष’, ‘खुल्ला आकाश’ र ‘मभेरी’ लगायतका चलचित्र प्रदर्शनमा आइसकेका छन्। चलचित्र निर्माणसँगै टेलिचलचित्र, म्युजिक भिडियो, टेलिभिजन विज्ञापन (टिभीसी) तथा वृत्तचित्र निर्माणमा समेत सक्रिय उनले नेपाली चलचित्र तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्। नेपाल टेलिभिजनबाट सन् २०२३ अगस्टदेखि २०२४ अगस्टसम्म एक वर्ष नियमित रूपमा हरेक साता एक भाग प्रसारण भएको टेलिचलचित्र ‘विवाह’ पनि उनको निर्माण यात्राको महत्वपूर्ण काम हो।
व्यावसायिक अनुभव, अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध र चलचित्र निर्माणप्रतिको लगावलाई समेट्दै निर्माता कोइरालाले ‘नेक्सस’ लाई ठूलो लगानी र अन्तर्राष्ट्रिय पहुँचसहित अघि बढाउन लागेका हुन्। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको अनुभव हासिल गरेका, अवार्ड प्राप्त गरेका तथा चलचित्र, वेब सिरिज, रङ्गमञ्च र अभिनय प्रशिक्षणमा सक्रिय जीवन थापा ‘क्षितिज’ को लेखन तथा निर्देशन र व्यावसायिक तथा चलचित्र निर्माण क्षेत्रमा सक्रिय निर्माता बिनोद कोइरालाको सहकार्यमा बन्न लागेको ‘नेक्सस’ नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्यसहित अघि बढाइएको महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ६ : १६ बजे