२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

नेपाली सेनाले आमाडब्लम हिमालबाट ८ सय किलो फोहोर निकाल्यो




शम्सेर गुल्म नाम्चेका नेपाली सेनाले आमाडब्लम हिमालबाट संकलन गरेको ८ सय केजि फोहोर नाम्चे ल्याएपछि सामूहिक तस्वीर खिच्दै । तस्वीरः लामाकाजी शेर्पा । 

नाम्चे । आमाडब्लम हिमालबाट शम्सेर गुल्म नाम्चेबाट गएका नेपाली सेनाको टोलीले ८ सय किलो फोहोर संकलन गरेको छ । खुम्बुपासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)द्धारा आयोजित ‘वृहत आमाडब्लम हिमाल सरसफाई आभियान २०७५’ अन्तर्गत गएको नेपाली सेनाको टोलीले हिमालको फोहोर सरसफाई गरेको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको नीति अनुरुप हिमाल, नदिनाला, ताल सरसफाई अभियानमा नेपाली सेनाको सहभागीता हुने शर्कुलर भएकाले शम्सेर गुल्म नाम्चेबाट आमाडब्लम हिमाल सरसफाई अभियानमा सहभागी भएको गुल्मपतिले बताए । ३ दिनसम्म गरिएको हिमाल सरसफाईबाट संकलित ८ सय किलो फोहोरलाई नेपाली सेनाले पाङ्बोचेबाट नाम्चे एसपीसीसीको कार्यालयसम्म ल्याएको थियो ।
नाम्चे ल्याइएको ८ सय किलो हिमालको फोहोर एसपीसीसीका अध्यक्ष आङदोर्जी शेर्पालाई हस्तान्तरण गरिएको छ । हिमालबाट संकलित भएको फोहोर लिदैँ एसपीसीसीका अध्यक्ष शेर्पाले निःस्वार्थ रुपमा नेपाली सेनाले हिमाल, नदि, ताल सरसफाई अभियानमा पु¥याएको योगदानको मुक्त कण्ठले प्रशंसा गरे । ‘खुम्बु क्षेत्रको वातावरण स्वच्छ राख्न नेपाली सेनाको सहभागीतात्मक नीतिको प्रशंसा गर्दछु,’ अध्यक्ष शेर्पाले भने, ‘प्रधानसेनापति लगायत शम्सेर गुल्मलाई धन्यवाद दिन्छु, आगामि दिनमा हुने विभिन्न हिमाल सरसफाई अभियानमा समेत सहभागीताका लागि हामीले अपेक्षा गरेका छौं ।’

शम्सेर गुल्म नाम्चेका नेपाली सेनाले आमाडब्लम हिमालबाट संकलन गरेको ८ सय केजि फोहोर एसपीसीसीका अध्यक्ष आङदोर्जी शेर्पालाई हस्तान्तरण गर्दै । तस्वीरः लामाकाजी शेर्पा । 

शम्सेर गुल्म नाम्चेका नेपाली सेनाले आमाडब्लम हिमालबाट संकलन गरेको ८ सय केजि फोहोर नाम्चे ल्याएपछि सामूहिक तस्वीर खिच्दै । तस्वीरः लामाकाजी शेर्पा । 

शम्सेर गुल्म नाम्चेका नेपाली सेनाले आमाडब्लम हिमालबाट संकलन गरेको ८ सय केजि फोहोर नाम्चेस्थित ल्याण्डफिल्ड साईटमा लैजादै नेपाली सेना र एसपीसीसीका पदाधिकारी । तस्वीरः लामाकाजी शेर्पा । 

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  ५ : ५१ बजे