काठमाडौँ, १२ असोज । नियमितरुपमा गरेको बजार अनुगमनका क्रममा कुहिएको माछा भेटिएपछि जय भीमसेन मिट सप जोरपाटीबाट मंगलबार २० किलो माछा नष्ट गरिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमितरुपमा गर्दै आएको अनुगमनका क्रममा अनुगमन टोलीले मासु नष्ट गरेको हो । थापागाउँमा त्रिशु स्टोर्सले म्याद नाघेको चिसो पेयपदार्थ बिक्री–वितरण गरेको पाएपछि छसय एमएलको १० बोतल ड्यू, पाँचसय एमएलको स्प्राइट दुई बोतल नष्ट गरिएको छ ।
त्यसैगरी, लुम्बिनी ग्रोसरीबाट पनि पाँचसय एमएलको १२ बोतल फ्यान्टा र तीनसय एमएलको पाँच बोतल कोकाकोला नष्ट गरी उक्त पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएकोे अनुगमन अधिकृत ढुण्डीराज पोखरेलले जानकारी दिनुभयो ।

अनुगमनकै क्रममा व्यवसाय दर्ता नगरेको, नापतौल यन्त्र प्रमाणीकरण नगरेको, मूल्यसूची नराखेको र सरसफाइसमेत नगरेको पाएपछि न्यू कञ्चन मटन फ्रेस हाउस जोरपाटी, पुनु मिट सप जोरपाटी, एभरेस्ट कोल्ड स्टोर जोरपाटी, रक्तकाली लाइभ एन्ड कोल्ड स्टोर्स जोरपाटी, ठूले तामाङ मिट सप जोरपाटी, आले मासु मिट सप जोरपाटी, माइला कोल्ड स्टोर्स जोरपाटीलाई सात दिनभित्र कागजपत्र लिई विभागमा आउन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
व्यवसाय दर्ता नगरेको र सरसफाइ नभएको पाएपछि काठमाडौँ मलको दिदीको चमेना गृह, प्रियाश फास्ट फुड, जयसवाल जुस भण्डार, हिट मम एन्ड कर्नरलाई सात दिनभित्र व्यवसाय दर्ताको कागजपत्र लिई आउन निर्देशन दिइएको छ । रासस







