२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

धार्मिक वन हस्तान्तरण


१६ आश्विन २०७३, आइतबार  

7
Shares

रत्ननगर (चितवन), १६ असोज । चितवनको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको धार्मिक वन समितिलाई हस्तान्तरण गरिएको छ । सो वन ३.९ हेक्टरमा फैलिएको छ । योसँगै जिल्लामा पाँच स्थानमा १५ हेक्टर वन धार्मिक क्षेत्र घोषणा भएको छ ।

चितवनको धार्मिक पर्यटकीय क्षेत्र देवघाटधामको प्रवेशद्वारमा रहेको बागिश्वरी क्षेत्रको धार्मिक वनलाई वन तथा भू–संरक्षण मन्त्रालयले शनिबार स्थानीय धार्मिक वन व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

चार वर्षअघिसम्म कलेज अफ मेडिकल साइन्सेज भरतपुरले भोगचलन गर्दै आएको उक्त क्षेत्रलाई धार्मिक वनका रुपमा विकास गरी एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको आश्रमका प्रचार समिति संयोजक नवराज ढकालले जानकारी दिनुभयो ।

Sagarmatha

वन विभागका महानिर्देशक गोकुलराज पाण्डेले धार्मिक वन समितिका अध्यक्ष शान्तप्रसाद पोखरेललाई प्रमाणपत्र दिएर धार्मिक वन हस्तान्तरण गर्नुभएको थियो ।

सो क्रममा बोल्नुहुँदै महानिर्देशक पाण्डेले धार्मिक वन आफैँमा महत्वपूर्ण रहेको र वन संरक्षणमा युवालाई समेत सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो ।

सो धार्मिक वनमा गौ संरक्षण केन्द्र स्थापना गरेर काम हुँदै आएको छ । यस्तै प्राकृतिक चिकित्सा अस्पताल, योग सेन्टर, गुरुकुल, जैविक विविधता सूचना केन्द्रलगायत स्थापना गर्ने योजना रहेको ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार योगी नरहरिनाथको सङ्कल्पअनुसारका काम गरेर यहाँको धार्मिक वनको संरक्षण गर्ने गरी आज समितिलाई वन हस्तान्तरण भएको छ ।

यसअघि चितवनमा गणेशस्थान, गुम्बा र पूर्वी चितवनका विभिन्न क्षेत्रलाई धार्मिक वन घोषणा गरिसकिएको छ । चितवनका जिल्ला वन अधिकृत गणेश रायले वनमा रुख बिरुवा घट्दै गएको र अतिक्रमण हुँदै गएका बेला यसरी धार्मिक वनले संरक्षणमा सहयोग मिल्ने विश्वास व्यक्ति गर्नुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७३, आइतबार  ५ : २२ बजे