२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

तरकारी सङ्कलन केन्द्र प्रयोग नभई जीर्ण



इलाम, २० असोज । निर्माण भएको पाँच वर्ष बितिसक्दा पनि इलामको पुवाखोला छेउमा रहेको तरकारी सङ्कलन केन्द्र सञ्चालन हुन सकेको छैन । केन्द्र सञ्चालन हुन नपाउँदै जीर्ण बन्न थालेको छ ।

त्यस क्षेत्रका कृषकलाई प्रत्यक्ष सेवा पु¥याउने उद्देश्यले पाँचवर्ष अघि सो केन्द्रका लागि भवन निर्माण गरिएपनि संलग्न संस्था र सहयोगी निकायको बेवस्ताका कारण सञ्चालन नहुँदै जीर्ण अवस्थामा पुगेको हो ।

व्यावसायिक कृषि विकास आयोजना (सिएए), जिल्ला विकास समिति, गाविस र स्थानीयको गरी कुल रु २८ लाख २० हजारको लागतमा निर्मित भवन बाहिर स्थानीयको दाउरा राख्ने ठाउँ बनेको छ भने भवन पुवाखोला पुलको रड र सिमेन्ट राख्ने गोदाम भएको छ ।

Sagarmatha

भवन निर्माणका लागि सिएएबाट रु १८ लाख ८० हजा जिल्ला विकास समितिबाट रु चार लाख, गाविसबाट रु दुई लाख ६८ हजार र स्थानीय समुदायबाट रु दुई लाख ६८ हजार अनुदान प्राप्त भएको थियो ।
स्थानीय नुतनदेव दुलालले भन्नुभयो–“यहाँका बासिन्दाले प्रारम्भमै उक्त केन्द्रका लागि स्थान उपयुक्त नभएको जनाएका थिए तर पनि यति ठूलो रकम खर्च गरेर बनाइएको भवन बिना प्रयोग जीर्ण हुँदा कृषक निरास छन्”।

अन्यत्र जग्गा नभेटिएपछि स्थानीय कृष्ण गुरुङले दुई रोपनी जग्गा दिनुभएकाले खोला छेउमै भवन बनाउनुपरेको निर्माण समितिका सचिव पर्शु भण्डारीले बताउनुभयो ।
कृषकलाई दीर्घकालसम्म फाइदा पुग्ने ढङ्गले निर्माण गरिने संरचनामा जिल्ला कृषि विकास कार्यालयको समन्वय आवश्यक पर्नेमा वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले जोड दिनुभयो ।

प्रकाशित मिति : २० आश्विन २०७३, बिहिबार  ८ : २७ बजे