२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

‘फानी’को असर सगरमाथाको आधारशिविरमा पनि !



नाम्चे । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित झएको शक्तिशाली चत्रवात ‘फानी’को असर सगरमाथाको आधारशिविरमा समेत परेको छ । शुक्रबार अपरान्हपछि नेपालको पूर्वी भू–भाग भएर ‘फानी’ नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताए थिए ।

‘त्यो चक्रवातको असर पूर्वी क्षेत्र र हिमाली क्षेत्रमा पर्न सक्ने प्रारम्भिक अनुमान छ, ’ पौडेलले भने, ‘त्यो चक्रवातको असरस्वरुप हिमाली भू–भागमा भारी हिमपात र हावाहुरीको सम्भावना छ ।’ मौसमविद पौडेलको अनुमानसँगै सगरमाथाको आधारशिविर लगायत आसपासका क्षेत्रमा भारी हिमपात भएको छ । अहिले आधारशिविरको तापक्रम माइनस ११ डिग्री सेल्सीयस रहेको छ । हावाको दिशा १ सय ९० डिग्रीकोणमा प्रतिघण्टा १० किलोमिटर रहेको छ । आधारशिविरभन्दा तल्लो क्षेत्र ३ हजार मिटरको उचाईमा हावाको वेग प्रतिघण्टा १५ किलोमिटर रहेको छ ।

मौसमविद्हरुका अनुसार बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित भैइरहेको ‘फानी’ विस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको छ । ‘बिहीबारबाट यो प्रणाली उत्तर पूर्वतिर लाग्ने देखिन्छ’ महाशाखाले विशेष बुलेटिनमा भनेको छ, ‘शुक्रवारबाट यो प्रणाली भारतको उडिसा आसपास मोडिने देखिन्छ ।’ शुक्रवार अपरान्हअघिसम्म नेपालमा यसको भने प्रभाव खासै नपर्ने पौडेलले बताए ।

आधारशिविर लगायत आसपासका क्षेत्रमा भारी हिमपात भएपछि सगरमाथा, लोत्से र नुप्चे हिमाल आरोहणका लागि उचित मौसमको पर्खाइमा रहेका आरोहीहरुलाई थप समस्या भएको छ । सगरमाथाको आधारशिविरमा अहिले ३४ विदेशी समूहका ३ सय ४६ आरोही, ५ नेपाली समूहका १३ आरोही र तिनका सहयोगी गरी करिब ७ सय जना मानिस बसिरहेका छन् । त्यसैगरी लोत्से हिमाल आरोहणका लागि १० समूहका ९२ आरोही र नुप्चे हिमाल आरोहणका लागि ३ समूहका ३७ जना आरोही रहेका छन् । सगरमाथा, लोत्से र नुप्चे हिमाल आरोहणका लागि एउटै आधारशिविरको प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  २ : ३७ बजे