सगरमाथा हेर्न मन छ ? हवाईजहाज, मोटरसाईकल, बस, सुमो, के मा जाने ?

  पीटी लोप्चन
1k Shares

काठमाडौं । अघिल्लो हप्ता राजधानीको एउटा कार्यक्रममा एक जनासँग भेट भयो । परिचयको क्रममा मैले मेरो घर सोलुखुम्बु भएको बताए । त्यसपछि ती साथीले जिब्रो काढ्दै ओहो ! ‘सोलुखुम्बु’ भनेर आश्चर्य प्रकट गर्नुभयो । उहाँले सोलुखुम्बु धेरै टाढा हो भन्ने भावमा आश्चर्य व्यक्त गर्नुभएको थियो । सायद उहाँको घर काठमाडौमै हुनुपर्छ, र सोलुखुम्बुलाई टाढा सम्झेको हुनुपर्छ भन्ने मलाई लाग्यो । तर उहाँको घर चाहिं सुर्खेत रहेछ । काठमाडौबाट सुर्खेत चाँहि नजिक सोलुखुम्बु चाँहि टाढा सम्झिनेहरु धेरै हुनुहुन्छ । यस्ता घटनासँग मैले धेरै पटक मुकाबिला गरेको छु । सोलुखुम्बु भन्नसाथ काठमाडौबाट धेरै टाढा, हवाई यातायातले मात्र जोडिएको, दुर्गम र कष्टकर ठाउँ भन्ने भाव मनमा पैदा भैहाल्दो रहेछ । तर यो सत्य होइन ।

करिब १० वर्ष अघिको कुरा हो । मेरो एक जना साथीले काठमाडौकै रैथाने बिहे गरेर सोलुखुम्बु लैजानुभएको थियो । ‘विस्कुट, चाउचाउ खुब मन पराउँथिस, के खान्छेस् त्यहाँ ? कसरी बाँचिरहेकी छेस् ? बिस्कुट, चाउचाउ पठाईदिऊँ भने कहाँबाट कसरी पठाउँ ?’ सासु ससुराले टेलिफोनमा छोरीसँग भएको सम्बाद सुनाउँथ्यो साथीले ।
सोलुखुम्बुप्रति बाहिरी जिल्लाका बासिन्दाको बुझाईलाई यी दुई घटनाले नै प्रमाणित गर्छ । तर बाहिरी मानिसले बुझे जस्तो दुर्गम, राजधानीबाट टाढा र उपभोग्य बस्तुकै अभाव हुने ठाउँ चाँहि होइन सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्ला जानलाई अनेकौं विकल्पहरु छन् । तपाईसँग उपलब्ध समय, सवारी साधन र आर्थिक सामथ्र्य आदिले के मा जाने भन्ने कुराको निर्धारण गर्छ ।
विकल्प १ हवाईयात्रा :
तपाई हवाईजहाजबाट सोलुखुम्बु जान चाहनुहुन्छ भने काठमाडौं–लुक्ला वा काठमाडौं– फाप्लुको हवाईयात्रा तय गर्न सक्नुहुन्छ । काठमाडौको त्रिभुवन विमानस्थलबाट उडेको २५ देखि ३० मिनेटमा तपाई फाप्लुमा पुग्न सक्नुहुन्छ । यदि तपाई लुक्ला जान चाहनुहुन्छ भने करिब उत्ति नै समयमा लुक्ला पुग्न सक्नुहुन्छ । तर तपाईले लुक्ला ओर्लनसाथ सगरमाथा देख्न सक्नुहुन्न न फाप्लुमा ओर्लनसाथ नै देख्न सक्नुहुन्छ ।

फाप्लुबाट करिब डेढ दुई घण्टाको उकालोपछि पुगिने रातनाङ्गे डाँडाबाट तपाईले सजिलै सगरमाथा देख्न सक्नुहुन्छ । सगरमाथा हेर्नकै लागि रातनाङ्गेमा भ्यू टावरको समेत निर्माण गरिएको छ । यदि बिहानकै उडान भयो भने तपाई काठमाडौबाट जहाज चढेकै दिन भ्यूटावर पुगेर सगरमाथा हेर्न सक्नुहुन्छ ।
सगरमाथा हेरेपछि तपाई त्यही बाटो भएर भोलिपल्ट काठमाडौ फर्किन सक्नुहुन्छ । अरु ठाउँहरु पनि हेरेर बिस्तारै फर्किने मन भए जुनबेशी, नेले, ज्वालामाई देवीको मन्दिर, टाक्सिन्दु, पिके डाँडा लगायत ठाउँ घुमेर सडक यातायातबाट पनि काठमाडौ फर्किन सक्नुहुन्छ । फाप्लुमा नेपाल वायु सेवा निगम, तारा एयर लगायत विमान सेवा कम्पनीहरुले नियमित उडान गर्दै आएका छन् ।

यदि तपाई लुक्ला जान चाहनुहुन्छ भने लुक्लाबाट करिब एक दिनको बाटो हिडेर पुगिने नाम्चेबाट सगरमाथा देख्न सक्नुहुन्छ । नाम्चेको शीरमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय परिसरबाट सगरमाथा राम्रोसँग नियाल्न सकिन्छ । तपाईसँग उपलब्ध समयको आधारमा तपाई त्यहाँ बाट अगाडि बढ्न पनि सक्नुहुन्छ । लुक्लासम्म सडक यातायात पुग्न बाँकी भएकाले तपाई फर्किदा पनि हवाईजहाजबाटै फर्किनुपर्ने हुन्छ ।
विकल्प २ सडक यातायात :
सडक यातायातबाट पनि तपाई सोलुखुम्बु पुगेर सगरमाथा हेरेर आनन्दले फर्किन सक्नुहुन्छ । सडक यातायातमा पनि अनेकौं सवारीहरु प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईसँग आफ्नै निजी सवारी साधन छन् भने झनै उत्तम । काठमाडौ देखि सोलुखुम्बुसम्मै कालोपत्रे सडक भएकाले तपाईसँग भएको गाडी वा मोटरसाइकलको माध्यमबाट सदरमुकाम सल्लेरीसम्मै पुग्न सक्नुहुन्छ । यसका लागि टाढा पनि छैन । मात्र काठमाडौबाट २७५ देखि ८० किलोमिटरको यात्रा तय गर्नुपर्छ ।

यदि तपाईसँग आफ्नै सवारी साधन उपलब्ध नभएमा दैनिक सयौं सुमो तथा बसहरु सोलुखुम्बुका लागि छुटिरहन्छन् । काठमाडौको चावहिलबाट दैनिक सुमो र बस छुट्ने भएकाले सार्वजनिक सवारी साधन चढेर पनि सोलुखुम्बु पुग्न सक्नुहुन्छ ।
काठमाडौबाट गुडेको गाडी भक्तपुर, बनेपा हुँदै धुलिखेलबाट दायाँतिर मोड्नुपर्छ । त्यसपछि काभ्रेभञ्ज्याङ, काभ्रेकै भकुण्डेबेसी, मंगलटार, नेपालथोक हुँदै सिन्धुलीको खुर्कोट पुग्नुहुन्छ । खुर्कोटबाट अघि बढेपछि एउटा लामो पूल पार गर्नसाथ सिन्धुलीगढी बर्दिबास र घुर्मी जाने बाटो आउँछ । दायाँ बाटो गए सिन्धुली बर्दिबास र बायाँ तिर गए उदयपुरको घुर्मी आउँछ । सोलुखुम्बु जानलाई घुर्मीतिरको बाटो जानुपर्छ ।
घुर्मीबाट सुनकोसी पूल तरेपछि ओखलढुंगाको सीमाना शुरु हुन्छ । अब त्यहाँबाट उकालो यात्रा सुरु हुन्छ । बाटोमा मानेभन्ज्याङ, कात्तिके हुँदै तपाई ओखलढुंगाको मिलनचोक, रमाइलो डाँडा पुग्नुहुन्छ । रमाईलो डाँडाबाट अघि बढेपछि बिप्लाठे, चित्रे, टोड्के जस्ता ठाउँहरु आउँछन् । तपाई जत्ति अगाडि बढ्नुहुन्छ त्यत्ति धेरै रमणीय दृश्यका पर्दाहरु खुल्दै जान्छन् । ठाडे पार गरेपछि तपाईलाई निक्कै उचाईमा पुगेको महसुस हुनेछ । जब ओखलढुंगाको सीमा समाप्त हुन्छ अनि सोलुखुम्बुको सिरसिर हावाले तपाईलाई स्पर्श गर्न थाल्छ । त्यो त्यही हावा हो जुन सगरमाथाको चुचुरोमा बहन्छ ।

जन्तरधाप पुगेपछि तपाईलाई हेरिरहेको अवस्थामा पाउनुहुन्छ तपाईले सगरमाथालाई । तर मौसम भने खुलेको हुनुपर्छ । अगाडि बढ्दै जाँदा पत्ताले पार नगर्दासम्म पनि सगरमाथा तपाईको आँखाबाट लुक्दैन । तर तपाई सल्लेरीतिर अघि बढ्दै गर्दा सगरमाथा पनि ओझेल पर्दै जान्छिन् । सल्लेरी पुगेपछि सगरमाथा हेर्न चाहनुहुन्छ भने त्यही हवाईयात्रीले नै प्रयोग गर्ने बाटो भएर रातनाङ्गे पुग्नैपर्छ । जहाँबाट सगरमाथा आफ्नो आँखै अगाडि देख्नसक्नुहुन्छ । सडकमार्गबाट तपाई अब सल्लेरी पुग्नुभयो । तपाईको समय छ भने नजिकै रहेको ज्वालामाईदेवी मन्दिर र जुनबेसी पनि घुमेर फर्किनुहोस् ।
खर्च कति लाग्छ ?
चित्रमा मात्र हेरेको सगरमाथाले चित्तै बुझेन । अब तपाई सगरमाथाको नजिकै गएर हेर्ने चाहना पलायो, समय पनि छ तर पैसाको बारेमा तपाई लाई टेन्सन छ भने तनाव लिइरहनु पर्दैन । सोलुखुम्बु गएर सगरमाथा हेरेर फर्किन तपाईले अन्यत्र जस्तो धेरै खर्च गरिरहनु पर्दैन ।

किनकि सोलुखुम्बु निक्कै सस्तो छ । तपाईको गोजीमा ५ हजार रुपैयाँ छ, भने तपाई काठमाडौबाट सोलुखुम्बु पुगेर सगरमाथाको दर्शन गरेर काठमाडौमै फर्किन सक्नुहुन्छ । साभार : योहोखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार