काठमाण्डौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण सोमबारबाट सकिएको छ । सोमबार अन्तिम दिन करिब २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

यस वर्ष अनुमति लिएका आरोही र उनीहरुका सहयोगीसमेत गरेर करिब ६ सय जनाले सगरमाथाको शिखर चुमेका सम्पर्क अधिकृत श्रेष्ठले बताए । गएको वैशाख ३१ गते बाटो बनाउने ८ जना शेर्पाहरु शिखरमा पुगेसँगै शुरु भएको यस यामको सगरमाथा आरोहण सोमबारबाट सकिएको हो । यस वर्ष सगरमाथा आरोहणका लागि ४४ वटा समूहका ३ सय ८१ जनाले अनुमति लिएका थिए । आरोहीका लागि सहयोग गर्नेहरु समेत शिखरमा पुग्ने भएकोले आरोहीको संख्या दोब्बरभन्दा बढी हुन्छ । यस वर्ष सगरमाथा आरोहणका क्रममा १० जनाले ज्यान गुमाएका छन् ।
सन् १९५३ मा पहिलो पटक सगरमाथाको शिखरमा मानव पाइला पुगेको हो । त्यसयता करिब १२ हजारले सगरमाथा आरोहण गरेका छन् । सन् २०१८ सम्म ५ हजार ९ सय २१ जनाले सरकारसँग अनुमति लिएर सगरमाथा आरोहण गरेका छन् । यस वर्ष अनुमति लिएका ३ सय ८१ जना गएकोमा आरोहणको एकिन तथ्याङक आइसकेको छैन । यस वर्ष आरोही र आरोहण सहयोगी गरेर ६ सयभन्दा बढीले आरोहण गरेको पर्यटन विभागले जनाएको छ । अनुमति लिएका संख्याकै हाराहारीमा सहयोगी पनि शिखरमा पुग्ने भएकोले अहिलेसम्म १२ हजार भन्दा बढी आरोही शिखरमा पुगेको अनुमान् छ ।
पहिलो शिविरमा पुग्ने बाटोमा हिमग्लछी (क्रेभास) बढ्नुको साथै माथिल्ला शिविरहरुमा पनि हिउँ पग्लिने क्रम शुरु भएकोले सोमबारबाट शिखरतर्फ जान सकिने अवस्था नरहेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । अघिल्ला वर्षहरुमा मे २९ सम्म मौसम अनुकुल रहने भए पनि जलवायु परिवर्तन लगाएतका कारण पल्लिा वर्षहरुमा हिउँ चाँडै पग्लिने क्रम सुरु भएको श्रेष्ठले बताए ।
१३ जेष्ठ २०७६, सोमबार
175
Shares







