सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय गाउँपालिका खुम्बुपासाङल्हामु गाउँपालिकास्थित चोलापासमा बाटो बनाउने काम सकिएको छ । गाउँपालिकाको ३० लाख बजेटमा चोलापासको २ सयमिटरभन्दा बढि भीरको उकालोमा फलामको लठ्ठा लगाएर बाटो बनाउने काम सकिएको खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए ।

सगरमाथा क्षेत्रको सबैभन्दा साहसिक एवं खतरनाक पर्यटकीय पदमार्गको रुपमा परिचित चोलापासमा हिउँले बाटो पुरिँदा कतिपय पर्यटकहरु हराउने गरेका थिए । हिउँ परेको समयमा त्यो क्षेत्रका लागि अनुभवी मानिएका शेर्पाहरु समेत चोलापास गर्न डराउने गरेका थिए । अब भने त्यो समस्या समाधान भएको छ ।

‘पर्यटकहरुको सुरक्षालाई ध्यानमा राखेर हामीले चोलापासमा खिया नलाग्ने फलामको लठ्ठा लगाउने निर्णय गरेका हौं,’ खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले भने, ‘अब हामी हाम्रो गाउँपालिका आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको सुरक्षाको लागि अन्य आवश्यकीय पूर्वाधारहरुको निर्माण गर्ने चरणमा छौं ।’

विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वको रामसार सूचीमा समेत सूचीकृति गोक्यो क्षेत्रलाई सबैभन्दा छोटो दूरीमा जोड्ने पासको रुपमा रहेको चोलापासहुँदै एकै समयमा आधारशिविर र गोक्यो क्षेत्र भ्रमणको लागि पर्यटकहरुको लागि आवश्यकीय बाटो हो चोलापास । समुन्द्र सतहबाट ५ हजार ४ सय २० मिटरको उचाईमा रहेको चोलापासलाई पूर्व र पश्चिम दुवै क्षेत्रबाट पास गर्न सक्निछ ।

१७ जेष्ठ २०७६, शुक्रबार
126
Shares













