२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सगरमाथाको आधारशिविर पुग्नु भएको छ ? छैन भने हेर्नुहोस २२ तस्वीर


बुद्धवीर बाहिङ

१७ जेष्ठ २०७६, शुक्रबार  

21
Shares

आधारशिविर । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर कस्तो छ ? वसन्त ऋतुको आरोहण समयमा कस्तो हुन्छ, सगरमाथाको आधारशिविर ? अनि कसरी बस्छन् आरोहीहरु ६० दिनसम्म ?

यी र यस्तै प्रश्न सबैको मनमा खेल्ने गर्छ ! वसन्त ऋतुको आरोहण समयमा आधारशिविर कुनै पर्यटकीय बजारभन्दा कम हुँदैन । चारैतिर चाँदीजस्तै टलक्क टल्किने हिमाल । हिमालको बीचमा ग्ल्यासियरमाथी विभिन्न आरोहण दलको रंगीचंगी त्रिपाल । अनि उच्च हिमाली वातावरणसँग घुलमिल गर्न निरन्तर अभ्यास गर्दै आरोहीहरुको दृष्यले कसको मन खिच्दैन र ?

चिसो सिरेटो, सिमसिम पानीसँगै सिमलको भुवा जस्तै उडेर आएको फुसफुस हिउँ ! माइनस १० डिग्रीभन्दा बढि चिसोमा पनि न्यानो हुने फेदरको घुस डाउन ज्याकेट लगाएका आरोहीहरु यताउती गर्दै उचाईको वातावरणसँग घुलमिल गर्न अध्यासरत । कोहि आरोहीहरु खुम्बु आइसफलको क््रयाम्पन पोइन्टसम्म पुगेर फर्किदै । कोहि माथिल्लो आधारशिविर एक र दुई पुगेर उचाई पचाउदै आधारशिविर फर्किएको आरोहीको लस्कर देख्दा कम्ता रमाईलो लाग्दैन !

सगरमाथा आधारशिविर लेखिएको ठाउँबाट वसन्त ऋतुमा आधारशिविरभरी फैलिएका आरोहीको त्रिपालसम्म पुग्नको लागि दिनभर जसो लाग्छ । आरोहीहरुको त्रिपालमा पुग्दा जता गएपनि सु (पीठो लगाएर बनाइएको चीया) ब्ल्याक कफि वा काजु, बदाम, पिनट जे खाएपनि डाइनिङ टेबलभरी राखिएका हुन्छन् । कुनै एक्सपीडिसन ग्रुपको त सुविधा सम्पन्न होटल जस्तै बनाइएका हुन्छन्, डाइनिङ हल ।

समुन्द्र सतहदेखि ५ हजार ३ सय ६४ मिटरको उचाईमा रहेको आधारशिविरसम्म मात्रै जो कोहिलाई जाने अनुमति हुन्छ । त्यो भन्दा माथि जानको लागि नेपाल सरकार पर्यटन मन्त्रालयबाट अनुमति लिनु पर्छ । यदि कोहि अनुमति नलिइ गएमा कुनै दुर्घटना भए उसले न बीमा रकम पाउँछ ! न उसलाई कसैले तल ल्याउँछ ।

मानिसको जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ हो विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर । स्वास्थ्यले साथ दिए स्वर्गको आभास हुने क्षेत्र हो आधारशिविर । त्यसैले एक पटक अवश्य पुग्ने प्रयास गर्नुहोला । जुन ठाउँ टेक्नको लागि मात्रै वर्षेणी हजारौं माइल टाढाबाट लाखौं पर्यटक आउने गर्दछन् ।


शब्द/तस्वीरः बुद्धवीर बाहिङ राई । 

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ५ : ५६ बजे