१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

बझाङका बासिन्दाको हृदयविदारक तस्वीर ! सरकारलाई छोयो छोएन ? तर, विश्वभरका नेपालीको मन रुवायो !



काठमाडौं । बझाङका बासिन्दा घरमा ताल्चा ठोकेर भारतमा चौकीदारी गर्न बाध्य छन् । हुलका हुल तन्नेरी भारत पसेपछि गाउँघर पुरुषविहीन बन्दै गएका छन् । आजको नेपाल साप्ताहिकले कामको खोजीमा भारत पलायन भएका बझाङका बासिन्दाको व्यथालाई समेटेर विशेष रिपोर्ट प्रकाशित गरेको छ ।


भारत जाँदै गरेका परिवारका सदस्यलाई बिदाइ गर्दा भावविह्वल अभिभावक र आफन्तहरुको हृदयविदारक तस्वीरसहित प्रकाशित समाचारमा लेखिए अनुसार साविक व्यासी गाविसको व्यासीकोट दरबार नजिकका सबै दलित परिवार घरमा ताल्चा ठोकेर रोजगारीका लागि भारत पसेका छन् । भारत पसेकामध्ये कोही दिल्ली छन्, कोही बैंग्लोर, कोही कालापहाड (उत्तराखण्ड) तिर चौकीदारी गरिरहेका छन् । छिमेकी घरमा ताल्चा लगाएर विदेसिनुको कारण खोतल्दै मीनबहादुर भन्छन्, ‘यता बसेर उसै पनि खान पुग्दैनथ्यो, पोहोर साल सडक खन्दा भएको जग्गा जति पहिरोले पुरियो, अनि सबै भारत पसे ।’ आफ्नो सीमित जग्गामा खेतीपाती गर्न र त्यसैको रेखदेखका लागि वृद्धवृद्धा र महिलालाई घरमै छाडेर भारत जाने गर्थे । गत वर्ष पहिरोले जग्गा लगेपछि घरमा ताल्चै ठोकेर हिँडेको मीनबहादुर सुनाउँछन् । यसरी घरमा ताल्चा ठोकेर हिँड्ने परिवारको संख्या छविसपाथिभेरा गाउँपालिकामा मात्र ५० भन्दा बढी छ ।
स्थलगत रिपोर्टमा नेपाल साप्ताहिक लेख्छ, ‘गाउँघर, घरव्यवहारको जिम्मेवारी वृद्धवृद्धा, केटाकेटी र महिलाको थाप्लोमा छ । आराम गर्ने उमेरका वृद्धवृद्धा जीविका चलाउनकै लागि शारीरिक श्रम गर्ने बाध्यतामा छन् । महिलाले गर्भवती, महिनावारी र बिरामी भएको छूट पाउँदैनन् । ‘अभिभावक घरमा नभएपछि स्कुल जाने उमेरका केटाकेटी घरव्यवहारमा फस्ने गरेका छन् ।’ नेपाल साप्ताहिकबाट ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ४ : ५४ बजे