४ वर्षमा आफन्तबाटै ६ सय ८४ मारिए !

  पत्रपत्रिका
0 Shares

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला ४ वर्षमा आफन्तबाटै ६ सय ८४ जना मारिएका छन् । आफन्तजनबाटै मारिनेक्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको राजधानी दैनिकमा खबर छ ।


नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका ४ वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६ सय ८४ जनाको हत्या भएको देखाएको हो । जसअनुसार श्रीमानले श्रीमतीदेखि श्रीमतीले श्रीमान र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासूससुरासम्मको हत्या गरेका छन् ।
तथ्यांकअनुसार पछिल्ला ४ वर्षमा श्रीमानबाट २ सय ७५ जना श्रीमतीको हत्या भएको छ । यस्तै श्रीमतीबाट ५८ जना श्रीमान मारिएका छन् । बाबुआमाले मिलेर १५ जना सन्तानको हत्या गरेका छन्, भने छोराले मात्रै विगत ४ वर्षबीचमा ५३ जना आमाबाबुको हत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
यस्तै, छोराबुहारी मिलेर विगत ४ वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको, यस्तै, आमाले २४ जना वयस्क छोराछोरीको हत्या गरेको प्रहरीको विगत ४ वर्षको तथ्यांकले देखाउँछ ।
यसैगरी, सौतेनी आमा र बाबुले विगत ४ वर्षम ४ जना सन्तानको हत्या गरेको, आफन्तले ३ जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २२ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी तथ्यांकले देखाएको छ । यस्तै, विगत ४ वर्षमा मामाबाट ४ जना भान्जाभान्जीको, भान्जाले ३ जना मामाको, काकाकाकीले ६ जना भतिजाभतिजीको, दाजुले २५ जना भाइबहिनीको, भाइबाट ५ जना दाजु, दिदी र बहिनीको तथा बहिनीबाट १ जना दाजुको हत्या भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले कुनै एउटा कारण नभई विभिन्न कारणले आफन्तबाटै आफन्तको हत्या हुने गरेको पाइएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार