२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरो


१९ भाद्र २०७६, बिहिबार  

21
Shares

जलेश्वर । महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।
अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताए ।

उहाँका अनुसार १३५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा कैदीबन्दीको सङ्ख्या ५०० पुगेको छ । ४५१ पुरुष, ४५ महिला र ४ आश्रित बालबालिकासहित अहिले जलेश्वर कारागारमा जम्मा ५०० कैदीबन्दी छन् ।

अत्यधिक चापकै कारण मान्छे–मान्छेबीच उत्पन्न हुने गर्मी र माथिबाट चर्को घामका कारण जलेश्वर कारागारमा अहिले करीब १४० कैदीबन्दीमा भाइरल फिवरको प्रकोप देखिएको मूलकैदी ९चौकीदार० श्यामसुन्दर यादवले बताए ।

अहिले जलेश्वर कारागारबाट दैनिक एक दर्जन बढी कैदीबन्दी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइने गरिएको जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताए। उहाँले अत्यधिक गर्मीकै कारण कैदीबन्दी अहिले उकुसमुकुस भएर बाँचिरहेको र एउटा न एउटा कैदीबन्दी बिरामी भइरहने अवस्था रहेको बताए ।

दैनिक दर्जनौँको सङ्ख्यामा बिरामी हुने कैदीबन्दीमध्ये धेरैलाई कारागारमै दरबन्दी भएका सिनियर अहेवले भित्रै गएर र बाहिर निकालेर पनि उपचार गरेका छन् भने सिकिस्त बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको उहाँले बताए ।

यता जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले पनि जलेश्वर अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये एकचौथाइ बिरामी कारागारबाटै आउने गरेको बताए । चर्को घाम र अत्यधिक गर्मीले अहिले जलेश्वर कारागारबाट प्रायः सबै कैदीबन्दी कुनै न कुनै रुपले प्रभावित भइरहेका छन् भने एकचौथाइ कैदीबन्दी भाइरल ज्वरोको सिकार भएर उपचारमा रहेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  ६ : ३८ बजे