३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

वारङ्गीका ९५ प्रतिशत घरमा सौर्य बत्ती



मोरङ, २ कात्तिक । सौर्य ऊर्जामा अनुदान दिएपछि उत्तरी मोरङको वारङ्गी गाउँ विकास समितिका ९५ प्रतिशत जनताले सौर्य बत्ती जडान गरेका छन् ।

जिल्ला विकास समिति तथा वैकल्पिक ऊर्जा कार्यक्रम र गाउँ विकास समितिले अनुदान दिएपछि वारङ्गीका अधिकांश गाविसवासीले सोलार बत्ती जडान गरेका हुन् । रु १० हजार मूल्य पर्ने एउटा सोलारमा जिविस मोरङले रु तीनहजारदेखि साढे तीन हजार, वैकल्पिक ऊर्जाले रु चार हजार तथा गाउँ विकास समितिले रु ५०० अनुदान दिने गरेको ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताउनुभयो ।

उज्यालो कार्यक्रमअन्तर्गत स्थानीय उपभोक्ताले सोलार जडान गर्दा रु दुई हजार मात्र व्यहोर्नु पर्ने हुन्छ । सहज अनुदान पाएपछि सो गाउँ विकास समितिका ६५० घरधुरीमध्ये ५७५ घरधुरीले सोलारको प्रयोग गरेको अधिकृत सिंहले बताउनुभयो ।

विशेष कार्यक्रम सञ्चालन गरेर बाँकी रहेका घरधुरीमा पनि सौर्य ऊर्जा बत्ती जडान गरिने जिविसले जनाएको छ । रासस

Sagarmatha

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  ४ : ०४ बजे