सगरमाथामा फोहोर !

7 Shares

काठमाडौं । सगरमाथाको आडमा सगरमाथाजत्तिकै अग्लो फोहोरको पहाड। सन् १९९३ मा टाइमले यस्तो कार्टुनसहित समाचार प्रकाशित गरेको देखेपछि नेपाली शेर्पाहरू दुःखी भए । विश्वका पर्वतारोहीहरूको गौरव र आकर्षण रहेको सर्वोच्च शिखर सगरमाथाको फोहोर व्यवस्थापन नभएको तथ्यले धेरैका आँखा खोलिदियो । आरोहणका लागि अहिलेसम्म ४० हजारभन्दा बढीले अनुमति लिएका र करिब ६ हजार मानिसले सफल आरोहण गरिसकेको सगरमाथाका बारेमा अन्तराष्ट्रिय सञ्चारमाध्यममा, एभरेस्ट ‘द वल्र्डस् हाइएस्ट जंकयार्ड’, ‘पाइल अफ गार्वेज’, ‘स्काटर अफ ह्युमन डेड बडिज अन एभरेस्ट’ जस्ता शीर्षकहरूले डेढ दशकदेखि ठाउँ पाइरहेका छन् ।


हरेक वर्ष सगरमाथा आरोहणको याम सुरु भएर आरोहीहरू आउन थाल्दानथाल्दै फोहोरको विषयले विश्व बजार पिट्छ । सगरमाथा पदमार्गमा यत्रतत्र कोकाकोलाका बोतल तथा प्लास्टिकहरू पाइएकै कारण विदेशी सञ्चारमाध्यमले सगरमाथालाई ‘कोकाकोला ट्रेल’ र ‘प्लास्टिक ट्रेल’ को संज्ञासमेत दिएर प्रचार–प्रसार गर्दै आइरहेका थिए । नेपालकै कार्यगत तथा नीतिगत कमजोरीका कारण अहिलेसम्म पनि सगरमाथाको अग्लाइसँगै जोडिएको फोहोरको कुख्यातिले बिराम पाउन सकेको छैन । यसै विषयलाई लिएर विभिन्न मञ्चहरूमा सरकारी अधिकारीहरूमाथि प्रश्नको झटारो हान्ने क्रम पनि जारी नै छ ।

हिलारीको सन्देश र ‘सगरमाथामा फोहोर’ को प्रचार-प्रसार

सगरमाथाको पहिलो सफल आरोहण भएको ऐतिहासिक घटनाको स्मरण गर्दै सन् २००३ मा नेपाल सरकारले सगरमाथा स्वर्ण महोत्सव मनाउँदै थियो । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले आरोहण गरेका थिए । विख्यात आरोहीहरू भेला भएको सगरमाथा क्षेत्रमा महोत्सवका विशिष्ट व्यक्तित्व सर एडमन्ड हिलारीले नाम्चेबाट सगरमाथालाई केही समय आराम गर्न दिनुपर्छ भन्ने सन्देश दिए ।
हिलारीको सन्देश सगरमाथामा बढेको फोहोरप्रति इंगित थियो । स्वर्ण महोत्सवको समाचार संकलन–सम्प्रेषणका लागि भेला भएका संसारका ख्यातिप्राप्त सञ्चार संस्थाका प्रतिनिधिहरूका लागि ‘सगरमाथाको फोहोर’ समाचारका लागि राम्रो ‘मसाला’ बन्यो । फलस्वरूप सञ्चारमाध्यममा सगरमाथा आधार शिविरसम्म थुप्रिएको फोहोरको समाचारले प्रमुखता पायो ।
हुन त स्वर्ण महोत्सवको घटनापूर्व नै पनि सगरमाथामा फोहोरको समाचार सञ्चारमाध्यममा आउन थालिसकेको थियो । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा सम्झन्छन्, ‘सन् १९९३ मा सगरमाथाको सबल र दुर्वल दुवै पक्षलाई केलाएर समाचार आयो । अमेरिकी म्यागाजिन ‘टाइम’ ले एक साइड सगरमाथा र अर्को साइड सगरमाथाजत्तिकै अग्लो फोहोरको पहाड भयो भनेर समाचार छाप्यो । उक्त पत्रिकाले एकातिर सगरमाथाको फोटो र अर्काेतिर सगरमाथामा भएको फोहोरको कार्टुन छापेको थियो । त्यसबेला हामी शेर्पाहरू निकै दुःखी भयौं ।’ यद्यपि त्यो समाचार सगरमाथामा भएको फोहोरबारेको तीतो यथार्थ थियो भन्ने पनि उनको ठम्याइ छ । स्वर्ण महोत्सव वर्ष अर्थात् सन् २००३ यता भने सगरमाथाको फोहोर निरन्तर समाचारको विषय बनिरहेको छ ।
सगरमाथा क्षेत्रमा आरोहीको संख्या वृद्धिसँगै फोहोरको परिमाण पनि बढ्न थालेको हो। सन् १९५३ यता करिब ६ हजार स्वदेशी तथा विदेशीले सगरमाथाको सफल आरोहण गरेका छन्। नेपाल साइड (साउथकोल) बाट करिब १५ सय टोलीले आरोहण अनुमति प्राप्त गरेका छन्। तिब्बत साइड (नर्थकोल) बाट भने १२ सय समूहले आरोहण अनुमति पाएको अनुमानित आँकडा छ ।
आरोहण अनुमतिअनुसार ६६ वर्षको अवधिमा ‘४० देखि ५० हजार’ ले सगरमाथा आरोहण अनुमति पाएको र ‘करिब ६ हजार’ ले सफल आरोहण गरेको पर्वतारोहणविज्ञ तथा नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । अमेरिकी पत्रकार इलिजावेथ हली (स्व.) द्वारा स्थापित हिमालयन डाटाबेसमा नौ हजार १५९ टोलीका पाँच हजार २९४ जना सर्वोच्च शिखरमा पाइला राख्न सफल भएको उल्लेख छ । हिमालयन डाटाबेसले सगरमाथालगायतका हिमाल आरोहणको आधिकारिक तथ्यांकको अभिलेखीकरण गर्छ ।
सगरमाथा आरोही र आरोहण दलका सदस्यमध्ये केही सगरमाथा क्षेत्रबाट कहिल्यै फर्केनन् । आरोहण दलहरूद्वारा लगिएका कतिपय सामान फर्काइएनन् । फलस्वरूप सगरमाथा क्षेत्रमा फोहोर बढ्न थाल्यो । त्यसको हरहिसाब पनि भएन । सगरमाथा आरोहणको इतिहासमा सन् १९७३ को इटालियन सगरमाथा आरोहण दल सबैभन्दा ठूलो थियो । तीन हजार पाँच सयजना त भारी बोकेर आधार शिविरमा पुगेका थिए । १२६ टन सामान आधार शिविर लगिएको थियो । आधार शिविरभन्दा माथि सामान ओसार्न दुईवटा एमआई १७ हेलिकोप्टर प्रयोग गरिएको थियो । आरोहण दलका सदस्यहरू भिन्नै थिए । हेलिकोप्टरको ध्वनिले खुम्बु आइसफलमा हिमपहिरो नै गएको थियो । ‘त्यो एक्सपिडिसन निकै महँगो पनि थियो ।’ एक्सपिडिसनलाई नजिकबाट नियालेका पूर्वअध्यक्ष शेर्पा सुनाउँछन् । हालका वर्षहरूमा आरोहण टोली साना र छरिता भए पनि उचित व्यवस्थापन अभावले फोहोरको परिमाण बढ्दो छ । सगरमाथामा ‘नया’ फोहोर नै बढी’ छ, सस्तो दरमा ‘एक्सपिडिसन’ चलाउने तथा ‘अल्पाइन शैली’ मा आरोहणमा जानेले फोहोर गर्ने गरेका छन्, उनी भन्छन् ।

दबिएका फोहोर सतहमा देखिँदै

यस क्षेत्रमा विगतमा नदेखिएका लास तथा अन्य फोहोर पनि केही वर्षयता देखिन थालेका छन् । जलवायु परिवर्तनका कारण भएको तापमान वृद्धिले सगरमाथालगायत हिमशिखरहरूको हिउँ पग्लिने क्रम बढेपछि हिउँमा पुरिएका लास तथा फोहोर देखिन थालेका हुन्। अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको एक वैज्ञानिक प्रतिवेदन ‘द हिन्दुकुश हिमालय एसेसमेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनेबिलिटी एन्ड पिपल’ मा शताब्दीको अन्त्यसम्म विश्वको तापमान वृद्धि १.५ डिग्री कायम रहेमा ३६ प्रतिशत र कार्बन उत्सर्जन स्थिति अहिलेकै जस्तो रहेमा ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको छ । हिउँ पग्लेपछि सगरमाथा क्षेत्रमा दबिएका लास तथा अन्य फोहोर सतहमा अझ बढी देखिने हुन्छ ।


२१ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान राखेका आप्पा शेर्पा आरोहण क्रममा साउथकोलमा ससाना हिमताल र हिमनदीहरू बढेको देखेको जनाउँदै भन्छन्, ‘सगरमाथाको क्याम्प २, ३ र ४ माथि पुराना फोहोर सतहमा देखिने क्रम बढ्दो छ ।’ अन्य आरोही शेर्पा तथा विदेशीले पनि दबिएका पुराना फोहोर सतहमा देखिने क्रम बढ्न थालेको बताउँदै आएका छन् ।
सन् २०१० को सगरमाथा सफाइ अभियानका सदस्य तथा सगरमाथा आरोही पासाङ शेर्पाका सबैभन्दा बढी फोहोर साउथ कोलबाट माथिका भागमा रहेको र क्याम्प २ भन्दा माथिका फोहोर ल्याउन पनि निकै कठिन हुने बताउँछन् । अन्तराष्ट्रिय माउन्टेन गाइड तथा सगरमाथा आरोही लाक्पा शेर्पा पनि साउथकोलदेखि ‘समिट’ (चुचुरो) सम्मको ८४८ मिटर दूरीमा बढी फोहोर रहेको र त्यहाँ भएका फोहोर र लासहरूले सगरमाथाको कुरूप पाटो देखाउने बताउँछन् । उनका अनुसार, ठूलो भूकम्प गएको वर्ष अधिकांश कम्पनीले पालहरू त्यसै छाडेर आए । ती फोहोरहरू सतहमै देखिन्छन् । प्लास्टिक, पुराना डोरी, विभिन्न क्यान फ्रुट, पुराना अक्सिजन बोतल तथा पाल सगरमाथाको क्याम्प २ बाट माथि बाटैभरि छन् । २० पटक सगरमाथा आरोहण गरेका अर्का आरोही पेम्बा दोर्जे पनि साउथकोल, साउथ समिट, हिलारी स्टेपसम्म मानिसका लासहरू छरिएर रहेका बताउँछन् । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका आरोहीहरूको लास आधार शिविरभन्दा तल ल्याएर व्यवस्थापन गर्नुपर्ने दायित्व कम्पनीहरूको हो, तर दायित्व बहन हुन सकेको छैन । आरोहीहरू साउथकोल (क्याम्प ४) बाट राति ११ बजे शिखरतर्फ लाग्छन् । ‘एकपटक रातको समयमा थाकेर साउथ समिटमा आराम गर्न अडेस लाग्दा लासमाथि बिसाएको’ दोर्जेको डरलाग्दो अनुभव छ ।
सन् १९९६ मा हिमआँधीमा परी आठ आरोहीले ज्यान गुमाएको घटनालाई पर्वतारोहणको इतिहासमा ठूलो वियोगान्त घटना मानिन्छ । मे महिनाको १० र ११ मा आएको उक्त हिमआँधीमा परी न्युजिल्यान्डका दुई, अमेरिकाका दुई, भारतका तीन र जापानका एक नागरिकको ज्यान गएको थियो । उक्त हिमआँधीमा परी मृत्यु भएका अमेरिकी आरोही स्कट फिसरको लास सगरमाथाको बालकोनीमै लडिरहेको छ ।
सन् २०१४ मा खुम्बु आइसफलको हिमपहिरोमा परेर १६ जना शेर्पाले ज्यान गुमाए । अधिकांशको लास भेटिएन । सन् २०१५ मा विनाशकारी महाभूकम्पका कारण गएको हिमपहिरोमा परी १८ जनाले ज्यान गुमाए । सन् २०१९ को वसन्त ऋतुमा पनि ११ जनाले ज्यान गुमाए । केही लास मात्र फर्काइएका छन् र अधिकांश यसै छाडिएका छन् । सगरमाथामा हालसम्म २९५ जनाले ज्यान गुमाएको हिमालयन डाटाबेसमा उल्लेख छ । सगरमाथा आरोही तथा पर्वतारोहण ब्लगर एलेन आर्नेटले सन् १९२३ देखि १९९९ सम्म १७० र सन् २००० देखि २०१९ सम्म १३४ गरी कुल ३०४ जनाले सगरमाथामा ज्यान गुमाएको उल्लेख गरेका छन् । सगरमाथामा आठ हजार मिटरभन्दा माथिको ठूलो समस्या भनेकै छरिएर रहेका लास हुन् । बेलायतको एभरेस्ट रिकभरी नामक संस्थाले सगरमाथामा करिब दुई सय लास छरिएर रहेको जनाएको छ ।
सगरमाथामा मानव उत्सर्जित जैविक फोहोर पनि विकराल छ । ‘सगरमाथाको अर्काे ठूलो समस्या भनेको मानिसहरूको मलमूत्र’ रहेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष शेर्पा बताउँछन् । पानीको मुहान हिमालय पर्वतको हिउँसँगै मलमूत्र मिसिएर तल नदीमा पुग्छ । तल्लो तटका वासिन्दाले फोहोर पानी पिउनुपर्ने बाध्यता छ । वर्षेणी सालाखाला ५० आरोहण दलका करिब एक हजार मानिस सगरमाथामा ओहोरदोहोर गर्छन् । त्यो संख्याले प्रयोग गर्ने अस्थायी चर्पी भनेको ‘ट्वाइलेट टेन्ट’ हो । त्यो आधार शिविरसम्म मात्रै हुन्छ । त्यहाँभन्दा माथि धेरैजसो खुला दिसापिसाब गर्नुपर्ने बाध्यता छ । ‘आइस’ माथि दिसा गर्दा पहेंलो रङको हिउँ देखिन्छ । एकदुई कम्पनीले मात्रै ट्वाइलेट ब्याग प्रयोग गर्दै आएका छन् । यस्तो ब्याग आधार शिविर पुग्दा प्रतिगोटा २० अमेरिकी डलर पर्छ ।

सफाइ अभियानको करिब अढाइ दशक

सन् १९९३ मा ‘टाइम’ म्यागाजिनमा छापिएको सगरमाथाको फोहोरसम्बन्धी सामग्रीले सरोकारवालाहरूलाई नराम्रोसँग झस्कायो । पूर्वअध्यक्ष शेर्पाका अनुसार, त्यसको तीन वर्षपछि सन् १९९६ मा नेपाल सरकारले आधार शिविरसम्मको फोहोर संकलन गर्न ३६ जना आरोही शेर्पाको टोली सगरमाथा सफाइ अभियान भनेर खटायो । टोलीले आधार शिविरसम्म थुप्रिएका तीन हजार पाँच सय किलोग्राम फोहोर संकलन र्गयो । संकलनमा सबैभन्दा बढी बियरका बोतलहरू थिए ।
यस्तै, जापानी नागरिक केन नोगुचीले सगरमाथा सफाइ कार्यलाई अभियानकै रूपमा अगाडि बढाए । स्वयंसेवकहरूको साथ लिएर उनले सन् २००० मा सफाइ अभियान थालेका थिए । ‘द गार्डियन’ ले सन् २००७ मे २९ मा जनाएअनुसार, सन् २००७ सम्ममा त्यस्तो अभियान पाँचपटक सञ्चालन गरियो र त्यसबाट दक्षिणी तथा उत्तरी मोहडा दुवैतर्फबाट गरी करिब नौ हजार किलोग्राम फोहोर संकलन गरियो । सातै महादेशका अग्ला हिमालहरूको आरोहण गरेका नोगुचीले सन् १९९९ मा सगरमाथाको आरोहण गरेका थिए । सन् २००७ मा नै सीएनएनलाई दिएको एक अन्तर्वार्तामा उनले सगरमाथामा जताततै फोहोर देखेपछि विश्वको अति विख्यात चुचुरोको सफाइ गर्ने र अरूलाई पनि त्यसबारे शिक्षा दिने आफूले निधो गरेको बताएका थिए ।


सन् २००८ मा एसियन ट्रेकिङले ‘इको एभरेस्ट एक्सपिडिसन’ भनेर सफाइ अभियान सुरु र्गयो । यस टोलीमा सहभागीहरूले सगरमाथा आरोहणका साथै फोहोर संकलन गरी ल्याउने गर्छन् । ११ वर्षको अवधिमा करिब २० हजार किलोग्राम फोहोर संकलन गरी ल्याइएको एसियन टे«किङका अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् । यस्तै, छरिएर रहेका सातवटा लास ल्याइएका थिए । तीमध्ये तीन शेर्पाका र चार विदेशीका थिए । सो अभियानलाई सुरुमा इसिमोड, डब्लूडब्लूएफ र नेपाल पर्वतारोहण संघले सघाएका थिए ।
सन् २०१० मा ३१ जना सगरमाथा आरोहीको समूहले सगरमाथाको आठ हजार मिटरभन्दा माथिका क्षेत्रमा सफाइ अभियान सञ्चालन र्गयो । ‘एक्सट्रिम एभरेस्ट एक्सपिडिसन २०१०’ नाम दिइएको अभियानमा लाग्ने खर्च नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा जुटाइएको थियो । समूहले आठ हजार मिटर माथिबाट एक हजार आठ सय किलोग्राम फोहोर र दुईवटा लास संकलन गरेर ल्यायो । अभियानले सरकार, आरोही र टे«किङ एजेन्सीहरूलाई सगरमाथाको फोहोरका विषयमा जिम्मेवार हुन अपिल पनि र्गयो । अभियानलगत्तै पर्यटन विभागले सन् २०११ को वसन्त ऋतुदेखि सगरमाथा आरोहणमा जाने स्वदेशी तथा विदेशीहरूले आठ किलोग्राम फोहोर ल्याउनुपर्ने नियम नै बनायो । त्यसले आरोहणमा जाने स्वदेशी तथा विदेशीहरूमा आफ्नो फोहोर फिर्ता ल्याउनुपर्ने चेतना मात्र जगाएन, फिर्ता ल्याउन बाध्य पनि बनायो ।
सन् २०११ मा सगरमाथा आरोही संघको नेतृत्वमा क्याम्प २ सम्म सगरमाथा सफाइ अभियान सञ्चालन गरियो । कुल २९ आरोही सम्मिलित अभियान टोलीले आधार शिविरदेखि आठ हजार सात सय मिटरसम्मको उचाइबाट ८.१ मेट्रिक टन फोहोर संकलन र्गयो । अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, इको हिमाललगायतका संघसंस्थाको संलग्नता थियो ।
सन् २०१९ को वसन्त ऋतुमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, प्रदेश १, सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समितिलगायतका सगरमाथा क्षेत्रका स्थानीय संघसंस्था र समुदायकोे संयुक्त प्रयासमा सगरमाथाको सरसफाइ अभियान सञ्चालन भयो । उक्त अभियान समूहले चार हजार ६९२ किलोग्राम फोहोर सगरमाथाको क्याम्प २ बाट र पाँच हजार ६९४ किलोग्राम फोहोर आधार शिविर र आसपास क्षेत्रबाट संकलन गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका आर्थिक तथा प्रशासनिक अधिकृत निशान श्रेष्ठ बताउँछन् ।
समूहले आधार शिविर र क्याम्प २ मा रहेका चारवटा लास पनि संकलन गरी ल्याएको थियो । श्रेष्ठका अनुसार, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीनै तहको संलग्नता रहेको तथा वैशाख १ देखि जेठ २३ गतेसम्म चलेको सो सफाइ अभियानका लागि दुई करोड ७० लाख रुपैयाँ खर्च भएको थियो ।
श्रेष्ठका अनुसार, फोहोर संकलनका अतिरिक्त अन्य कार्य पनि भएका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिको सक्रियतामा नाम्चेबजारमा प्रशोधन केन्द्र स्थापना गरिएको छ । सगरमाथाको फोहोरबाट स्याङबोचेमा म्युजियम बनाउन सुरु गरिएको छ । जल्ने फोहोरलाई नाम्चेमा व्यवस्थापन गर्ने र नजल्ने फोहोरलाई ‘क्यारी मि ब्याक’ अभियानबाट लुक्ला पठाउन सुरु गरिएको छ ।
सगरमाथाको २४ पटक आरोहण गरेका विश्व कीर्तिमानी कामी रिता शेर्पा भने अभियानको गतिविधिप्रति सन्तुष्ट छैनन् । सरकारले सगरमाथा सफाइका नाममा करिब तीन करोड बजेट सकेको तर क्याम्प २ भन्दा माथि अझै फोहोर रहेकोमा उनको गुनासो छ । सफाइका नाममा दुईजना मान्छे पठाएर अरू आधार शिविरमै हल्लिएर बसेको उनको आरोप छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले हरेक आरोहीबाट पैसा असुल्ने मात्रै काम गरेको छ, उनले भने ।
सन् २०१९ को सफाइ अभियानले केही सकारात्मक सन्देश पनि प्रवाहित गरेको छ । पछिल्लो समय आरोहीहरूले अक्सिजनका खाली सिलिन्डरहरू संकलन गरेर ल्याउन थालेका छन् । अक्सिजनको व्यापार गर्ने पसलेहरूले एउटा सिलिन्डरको दुई सय अमेरिकी डलरसम्म दिन्छन् ।

उपाय छन्, सरकार जाग्नु र लाग्नुपर्छ

एक दशकसम्म सगरमाथा आधार शिविरसम्मै पनि फोहोरको डंगुर देखिन्थ्यो । समयसमयमा चलाइएका सफाइ अभियानकै परिणाम हो, सगरमाथाको आधार शिविरसम्म विगतको जस्तो फोहोरको डंगुर छैन । आधार शिविरभन्दा माथिको सफाइ भने अझै पनि चुनौतीपूर्ण बनेको छ । स्थितिमा सुधारका लागि केही निश्चित कदम चालिनु आवश्यक छ ।
सरकारले सन् १९९४ बाटै सगरमाथा आरोहणमा जाने आरोहण दलसँग ‘गार्बेज डिपोजिट’ भनेर चार हजार अमेरिकी डलर लिन थालेको हो । सगरमाथाबाट हाम्रो फोहोर यति हो भनेर ल्याएर काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन महाशाखामा बुझाएपछि धरौटी फिर्ता हुन्छ । यद्यपि, यो ‘कर्मकाण्डी प्रक्रिया’ भएको आरोहीहरूको भनाइ छ । सगरमाथाको २४ पटक आरोहण गरेका कामी रिता शेर्पा सरकारी अधिकारीहरूले सगरमाथाको आरोहण याममा आधार शिविरमा बसेर कडा नियमन नगर्दा फोहोर छाड्ने प्रवृत्ति नरोकिएको बताउँछन् । उनका अनुसार, सगरमाथामा फोहोर छाड्ने स्वदेशी होस् वा विदेशी आरोहण दलका सदस्यहरूलाई कडा कारबाही गर्नुपर्छ । त्यस्ता ट्रेकिङ कम्पनीहरूको धरौटी जफत गर्नुपर्छ ।
सात हजार मिटर तलका हिमालहरूको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले पर्यटकीय याममा आधार शिविरसम्म फोहोर व्यवस्थापन गर्छ । सात हजार मिटरभन्दा अग्ला हिमालहरूको फोहोर व्यवस्थापनको दायित्व राज्यको हो । सगरमाथालगायत हिमालमा पनि हुने फोहोर व्यवस्थापनमा एसपीसीसीको महत्वपूर्ण भूमिका हुनुपर्छ ।
आरोहण दलहरूले एसपीसीसीलाई फोहोर बुझाउनुपर्छ र उसले ‘गार्बेज डिपोजिट’ रिलिजका लागि सहमतिपत्र दिन्छ । आरोहीले फोहोर बुझाएबापत एसपीसीसीलाई प्रतिकिलो २४० अमेरिकी डलर तिर्नुपर्छ । यो विद्यमान व्यवस्था हो र प्रायजसो आरोहण दलका सदस्यहरूले आठ किलोग्रामभन्दा कमै फोहोर फिर्ता ल्याउने गरेका छन् । यसबाट झारा टार्ने प्रवृत्ति बढेको देखिन्छ । आफूले नेपाल सरकारलाई महँगो आरोहण दस्तुर बुझाएका कारण फोहोरको जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो भन्ने मनोविज्ञान विदेशी आरोहीहरूको देखिन्छ । ‘क्लाइम्बिङ’ शेर्पाहरूमा पनि विदेशीका कारणले फोहोर बढेको हो र सफा गर्ने दायित्व ‘गोराहरू’ को हो भन्ने सोच पाइन्छ ।
पूर्वअध्यक्ष शेर्पा फोहोर व्यवस्थापनबारे सरकारी सोच ‘अदूरदर्शी’ भएको उल्लेख गर्दै ‘गार्बेज डिपोजिट’ लाई ‘गार्बेज व्यवस्थापन’ भनेर शुल्क लिनुपर्ने र प्रत्येक दुई वर्षमा सगरमाथाको सफाइ अभियान चलाइनुपर्ने बताउँछन् ।
पर्यटन नियममा सगरमाथा आरोहणका क्रममा मृत भएकाहरूको लासलाई आधार शिविरभन्दा तल झारी हिमनदीहरूलाई असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । यसमा राज्यले गम्भीर चासो दिनुपर्छ र लास झारेर व्यवस्थापन गर्नुपर्ने बाध्यकारी नियमलाई व्यवहारमा लागू गर्नुपर्छ ।
गएको वसन्त ऋतुमा चीन सरकारले सगरमाथाको उत्तरी मोहोडातर्फ सफाइ अभियान सञ्चालन गरेको थियो । सफाइ अभियान सञ्चालन गरेकाले आरोहण अनुमति पनि दिइएको थिएन । चीनले प्रत्येक दुई वर्षमा सगरमाथा सफाइ अभियान सञ्चालन गर्छ । आरोहण सिजनमा सीमित दललाई आरोहण अनुमति दिइन्छ । ‘गार्बेज फी’ भनेर प्रत्येक आरोहण दलबाट एक हजार पाँच सय अमेरिकी डलर लिइन्छ । तिब्बत पर्वतारोहण संघले एकजना ‘क्लाइन्ट’ बराबर एकजना शेर्पा अनिवार्य गरेको छ । त्यस्तै, आरोहणमा जानेले आठ किलोग्राम फोहोर अनिवार्य फिर्ता ल्याउनुपर्ने र नल्याए प्रतिकिलोग्राम एक सय अमेरिकी डलर जरिवाना तिर्नुपर्ने नियम छ । अफ्रिका महादेशको सबैभन्दा अग्लो हिमाल किलिमञ्जरो आरोहण गर्न जानेहरूले लैजाने सामानको मिहिन ढंगले चेक गरेर दर्ता गरेर पठाउने चलन छ । युरोप महादेशको अग्लो हिमाल माउन्ट ब्लंकमा दैनिक २५० जना चढ्न जान्छन् ।
त्यहाँ फोहोरको उचित व्यवस्थापन गरिएको छ । नेपालले पनि आरोहण दलका सदस्यहरूका सामान आधार शिविरमा दर्ता गर्ने र आरोहण सम्पन्न भएपछि ती सामान फिर्ता ल्याए वा ल्याएनन् भनेर कडाइसाथ जाँच गर्नुपर्छ । यसमा सम्पर्क अधिकृतहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । आरोहण याममा सम्पर्क अधिकृतहरू आधार शिविरमा अनिवार्य बसेर आरोहण दलले फोहोरको सही व्यवस्थापन गरेनगरेको अनुगमन गर्नुपर्छ । सम्पर्क अधिकृत आधार शिविरसम्म नपुग्ने र पुगे पनि आरोहण अवधिभर नबस्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । तीन हजार डलर र खाना बस्न र गेयर सम्बन्धित कम्पनीबाट लिएर घरमै बस्ने सम्पर्क अधिकृतहरूलाई दण्डित र इमानदारलाई पुरस्कृत गर्नु राज्यको दायित्व हो ।
सगरमाथा संसारकै अग्लो पानीको मुहान पनि हो। हिमालय पर्वतबाट बग्ने पानीमा एक अर्ब ४० करोड जनसंख्या आ िश्रत रहेको ‘नेसनल जिओग्राफी’ को एउटा रिपोर्टमा उल्लेख छ । पानीको यो अमूल्य मुहान जोगाउनु सबैको दायित्व हो । मुहानबाट बगेको पानीमा मलमूत्रको मिसावट रोक्नु पनि त्यत्तिकै आवश्यक छ । यसका लागि सरकारले ‘ट्वाइलेट ब्याग’ अनिवार्य प्रयोग गर्ने नीतिगत निर्णय लिएर कडाइसाथ लागू गराउनुपर्ने हुन्छ ।
‘नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समिति, २०७६ को अध्ययन तथा सुझाव प्रतिवेदन’ मा ‘फोहोर व्यवस्थापनमा गर्नुपर्ने सुधार’ उपशीर्षकमा विभिन्न सुझाव दिइएका छन् । यी सुझाव र सरोकारवालाहरूको चासो, चिन्ता एवं सुझावलाई समेत ध्यानमा राखेर नेपाल सरकारले यस विषयमा स्पष्ट नीति बनाउन र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ । अन्यथा विश्वमञ्चमा सगरमाथामा फोहोरको यक्षप्रश्नले कहिल्यै छाड्ने छैन ।
संसारकै अग्लो छानो सगरमाथा प्रकृतिको एउटा अनुपम उपहार हो। यो नेपाल र नेपालीको गौरव हो । मानव जातिकै साझा सम्पत्ति हो । सगरमाथालाई डम्पिङ साइट र लावारिस लासहरूको ‘मसानघाट’ बन्न दिनु हुँदैन । अन्नपूर्णपोष्टबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार