थुलुङ दुधकोशी गाउँपालिकामा ५० शैयाको अस्पताल निर्माण शुरु

Facebook Debugger

सोलुखुम्बु । सोलुखुम्बुको थुलङदुधकोशी गाउँपालिका ६ मुक्लीमा दुधकोशी सामुदायिक अस्पताल निर्माणको काम सुरु गरिएको छ । शुक्रबार प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेत, गाउँपालिका अध्यक्ष असिम राई, अस्पताल सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष शंकर कार्की, महासचिव विमल बस्नेत, कोषाध्यक्ष तथा समाजसेवी बलराम गुरुङले निमार्णस्थलमा ईटा र सिमेन्ट राखेर अस्पताल निर्माणको काम सुरु गरेका हुन् ।


५० शैयाको अस्पताल निर्माणका लागि रौता कुवर जेभीले १० करोड १० लाख ७२ हजार ७ सय ५३ रुपैँयामा ठेक्का पाएको छ । कम्पनीले निर्माणको काम सम्झौता भएको मितिले १८ महिनाभित्र सक्नुपर्नेछ । अस्पताल निर्माणको लागि गत चैत्रमा मुक्लीमा सप्ताहव्यापी श्रीमद् भागवत महायज्ञ संचालन गरिएको छ ,भने देशविदेशमा सहयोग संकलनको कामलाई जारी राखिएको छ ।
प्रतिनिनिधि सभा सदस्य हेमकुमार राईले अस्पतालको निर्माण, व्यवस्थापन र दिगो संचालनमा अनवरत लाग्ने बताए । उनले भने, ‘हामी नागरिकमैत्री विकासका लागि दत्तचित्त भएर लागेका छौ ।’ उनले निर्माण कम्पनीलाई गुणस्तरिय कामको लागि आग्रह गरे । प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेतले विकासको हुटहुटी चलिरहेको बताए । ‘अहिलेको विकासले हाम्रो पनि चित्त बुझेको छैन, दिगो विकासको लागि काम गरिरहेका छौ ।’ उनले भने । अस्पताल निर्माणको सवालमा आर्थिक संकलन, भवन निर्माण र संचालनमा आफू सधैँ सक्रिय रहने सांसद बस्नेतले बताए ।


थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष तथा अस्पताल संचालक समितिका अध्यक्ष असिम राईले अस्पताल बन्दैन् र बनेपनि व्यवस्थित संचालन हुन सक्दैन् भन्नेहरुलाई कामले जवाफ दिने बताए । ‘आलोचकप्रति पनि मित्र भाव राखेर अघि बढ्न चाहन्छौ ।’ उनले भने, ‘सबैको सहभागीतामा सामुदायीक अस्पताल बनाउने र ग्रामिणभेगका नागरिकलाई गुणस्तरिय सेवा प्रवाह गर्नेमा हामी प्रतिबद्ध छौ ।’

कार्यक्रममा महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, नेकपा जिल्ला सचिब गोम्बु शेर्पा, अस्पताल सञ्चालक समितका बरिष्ठ उपाध्यक्ष शंकर कार्की, महासचिव विमल बस्नेत, कोषध्यक्ष बलराम गुरुङ, जग्गादाता लगायतले बोल्दै अस्पताल निर्माण र संचालनमा एक भएर लागि परेको बताए । कुवँर रौता जेभीले तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
अस्पताल निर्माणको लागि मोहन राई, पविमाया राई, भिम बहादुर राई, ललित बहादुर राई, जोरमान राई, हरिसिहं राई, सौरभ किराँती र हेमन्त कुमार राईले साढे २३ रोपनी निशुल्क जग्गा दिएका छन् । उनीहरुलाई निर्माण शुभारम्भको अबसरमा सम्मान समेत गरिएको छ । हिमाल एफएमबाट

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार