३४ वर्षयताकै नेपालमा कम पर्यटक

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सपनामै सिमित

काठमाडौं । सन् २०२० मा वाषिर्क २० लाख पर्यटक भित्रयााउने लक्ष्यसहित सरकारले पर्यटन वर्ष घोषणा गरेको थियो । तर, अध्यागमन विभागका अनुसार यो वर्ष कुल २ लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिए । यो वर्ष त्रभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार ९५५ पर्यटक आए ।

कोरोना भाइरसको महामारीकाबीच ४ महिना नबित्दै भ्रमण वर्षका अभियान रद्द भयो । सन् २०२० को अन्तसम्म आइपुग्दा पर्यटन क्षेत्र यति नराम्रोसँग प्रभावित भयो की, यो वर्षको कुल पर्यटक आगमन संख्या पछिल्लो ३४ वर्षयताकै सबैभन्दा कम हो । यो वर्ष पछिल्लो साढे तीन दशकयताकै खराब अवस्थाबाट गुज्रिएको हो ।

यसअघि सन् १९८६ मा २ लाख २३ हजार ३ सय ३१ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसपछिका वर्षमा निरन्तर पर्यटक आगमन बढेको थियो ।

पछिल्लो समय नेपालमा आएको विनासाकारी भूकम्पको वर्ष सन् २०१५ मा समेत नेपालले ५ लाख ३८ हजार पर्यटकलाई स्वागत गर्न सफल भएको थियो ।

तर, कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि विश्वव्यापी रुपमा अपनाइएका प्रतिबन्धको मारमा पर्यटन क्षेत्र पनि परेको हो । सन् २०१९ मा भने इतिहासकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका थिए । सो वर्ष कुल ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल आएका थिए ।

नेपालमा अघिल्लो वर्ष आएको पर्यटकको संख्या समेत जनवरीदेखि मार्चसम्म आएका पर्यटकको संख्या बढी छ । त्यसपछि भने सरकारले नेपालमा लकडाउन सुरु ग¥यो । नेपालमा ७ चैतबाट लकडाउन शुरु भएको हो । यससँगै पर्यटक आगमन समेत बन्द भयो ।

यसको असर समग्र पर्यटक आगमनमा परेको हो । मार्चयता भने नगन्य संख्यामा मात्र पर्यटक भित्रिए । तथ्यांक विभागका अनुसार पछिल्लो असोजयता मासिक औसतः २ हजारको संख्यामा मात्र पर्यटक आइरहेका छन् ।

यो वर्ष वीरगन्ज हुँदै ३८८, काकडभिट्टाबाट २०२१, भैरहवाबाट ४३ हजार २७२, गड्डाचौकीबाट ६२१, नेपालगन्जबाट ९४, धनगढीबाट ३४ र रसुवागढीबाट ५२५ जना पर्याट नेपाल आए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार