१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

पाकिस्तानभरि मध्यराति एक्कासि बिजुली गएपछि पूरै अन्धकार



बीबीसी । पाकिस्तानमा शनिवार मध्यरातदेखि पूरै देशभरि विद्युत् आपूर्ति बन्द भएर अन्धकार भएपछि केही स्थानमा बिजुली आउन थालेको छ ।

राजधानी इस्लामाबादसहित मुख्य सहरहरू लाहोर र कराचीमा पनि स्थानीय समयानुसार मध्यरातपछि एक्कासि बिजुली गएको थियो ।

देशका ऊर्जामन्त्रीले बत्ती जानुको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

आइतवार बिहानै ट्वीट गर्दै ऊर्जामन्त्री ओमार अयुब खानले लेखेका छन्, ‘विद्युत् प्रसारण प्रणालीमा एक्कासि आएको समस्याको कारण देशैभरि बिजुली गएको हो ।’

केही बेरपछि खानले पेशावर सहरसहित केही क्षेत्रमा बिजुली पुनः आएको बताए ।

पाकिस्तानमा बिजुली जानु असामान्य कुरा होइन तर अहिलेको जस्तो देशैभरि र लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएको थिएन ।

अस्पताल, ठूला व्यापर गृह र धनाढ्य परिवारमा बिजुली आपूर्तिका लागि डिजेलबाट चल्ने जेनरेटर प्रयोग गरिन्छ ।

चरम अभावका कारण पाकिस्तानमा बिजुली आपूर्ति नियमित रूपमा हुँदैन । केही क्षेत्रमा त प्रत्येक दिन थुप्रै घण्टा बिजुली हुँदैन ।

बिजुली जाने समस्याका कारण यसअघि सडकमा प्रदर्शनहरू पनि भएका थिए ।

सन् २०१३ मा दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा रहेको विद्युत् केन्द्रमा प्राविधिक समस्या आउँदा पाकिस्तानको विद्युत सञ्जाल बिग्रिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ४ : ३३ बजे