विदेशी पर्यटक भित्र्याउनको लागि क्वारेन्टाईन हटाउनु पर्छ : उपाध्यक्ष कार्की

काठमाडौं । पर्यटन व्यवसायीहरुको संस्था ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले नेपाल घुम्न आउने विदेशी पर्यटकहरुलाई क्वारेन्टाईन हटाउनु पर्ने बताएका छन् ।

विदेशी पर्यटकहरुलाई पहिलेको जस्तै नेपाल भित्र्याउनको लागि ७ देखि १४ दिन लामो क्वारेन्टाईन बस्नु पर्ने सरकारले लगाएको बाध्यत्मक अवस्था हटाउनु पर्ने उपाध्यक्ष कार्कीले बताएका हुन् ।

‘छिमेकी मुलुक भारत लगायत धेरै देशमा विदेशी पर्यटकहरुले पीसीआर परीक्षण रिर्पोटका आधारमा प्रवेश पाउने गरेका छन्,’ उपाध्यक्ष कार्कीले भने, ‘क्वारेन्टाईनमा बस्नुपर्ने भएकाले धेरै विदेशी पर्यटकहरुले नेपाल आउने कार्यतालिका रद्द गरेर अन्य देश घुम्न गईरहेका छन् ।’

‘पर्यटकहरुलाई नेपाल आगमन भिसा पहिलेकै अवस्थामा एराईभल भिसा सहज तरिकाले दिनु पर्छ, अनि मात्र नेपालमा पर्यटकहरुको आगमन हुन्छ,’ उपाध्यक्ष कार्कीले भने, ‘ कोरोनाको मारमा परेका पर्यटन व्यवसायीलाई सरकारले कुनै पनि सहयोग गरेन, सहुलियत ऋण समेत उपलब्ध गराउन सकेन ।’

नेपाल सरकारले सन् २०२१ को सगरमाथा आरोहण लगायत अन्य हिमालहरु आरोहणको लागि विशेष व्यवस्था गर्ने भन्दै आएको भएपनि पछिल्लो विकसित राजनैतिक घटनाक्रमले सो योजना ओझेलमा परेको पर्यटन व्यवसायीहरुको भनाई छ । सरकार सत्ताको जोडघटाउमा लागेका कारण पर्यटन व्यवसायी लगायत अधिकांश व्यवसायीहरु मार्कामा परेको उनीहरुले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार