सोलुखुम्बु । सगरमाथा आरोहणको स्प्रिङ सिजन नजिकिँदै गर्दा आधारशिविरदेखि दोस्रो शिविर (क्याम्प टू)सम्म बाटो बनाउनका लागि खटिने आइसफल डाक्टर आधारशिविर पुगेका छन् ।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार सगरमाथा आरोहणका लागि बाटो बनाउने प्रयोजनका लागि ७ जना विशेषज्ञ टोली खटिएका छन् । उनीहरु आधार शिविरबाट माथि लागिसकेको निर्देशक आचार्यले बताए । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार यो टोलीमा पाल्देननामगेल शेर्पा, आङसार्की शेर्पा, मिङ्ग्मातेम्बा शेर्पा, दावाजाङ्बु शेर्पा, दावानुरु शेर्पा, ङिमावाङ्छु शेर्पा र फुछेतर शेर्पा रहेका छन् । उनीहरुलाई २ जना वेस क्याम्प सर्पोट स्टाफले साथ दिँदैछन् ।
आइसफल डाक्टरले सगरमाथाको आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने गर्दछन् । त्यसक्रममा पूर्वाधार राख्ने काम समेत यसै चरणमा हुने गर्छ । रुटमा भ¥याङ राख्नेदेखि डोरी टाग्ने काम समेत यसै बेला गरिन्छ । आइसफल डाक्टरले पहिल्याएको बाटोहुँदै आरोही चुचुरोतर्फ लम्किन्छन् । सोहीकारण आरोहणपूर्वको यो काम जोखिमपूर्ण र महत्वपूर्ण समेत मानिन्छ । यस प्रयोजनका लागि अनुभवी र विशेषज्ञ आरोही खटिएका हुन्छन् ।


आइसफल डाक्टरहरु करिब तीन महिना हिमालमा रहने भएका छन् । खुम्बु क्षेत्रमा खटिने टीमले तीन वटा हिमाल चढ्ने रुट पहिल्याउने काम गर्छ । सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ । यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ । अहिले पर्यटन विभागले आरोहण अनुमति खुला गरिसकेको छ ।







