२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

ढक्काको शिविरमा हात्तीको त्रास



कञ्चनपुर, ५ कात्तिक । कञ्चनपुर जिल्लाको ढक्कामा शिविर बनाएर बस्दै आएका आरक्ष विस्थापित परिवारलाई जङ्गली हात्तीको आक्रमणबाट ज्यान जोगाउन गाह्रो भएको छ ।

हात्तीले एक सातादेखि लगातार झोपडी भत्काउन थालेपछि शिविरमा बस्दै आएका परिवार साँझ नपर्दै नजिकैको बस्तीमा बास बस्नका लागि जान थालेका छन् । हात्तीको डरले बालबालिकासहित झोपडीमा रहेको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत बोकेर सुरक्षित स्थानमा जानु परेको स्थानीय हिरादेवी ऐडीले बताए ।

साँझ नपर्दै हात्तीको बथान शिविरमै आउँछ उनले भने, “ज्यान जोगाउनकै लागि पनि अन्यत्र बस्नु परेको छ ।” “सुतेको अवस्थामा समेत हात्ती आयो भनेर बालबालिका बर्बराउने गरेका छन् । हात्तीकै डरले बस्ती नै छाड्नुपर्ने अवस्था आएको छ”, भक्तबहादुर महराले भने ।

शिविरका दुई दर्जनभन्दा बढी परिवारका झोपडी भत्काएर हात्तीको झुण्डले खाद्यान्न खाएर बिचल्लीमा पारेको छ । लत्ताकपडा, भाँडाकुडासमेत कामै नलाग्ने गरेर च्यात्चुत र कच्याक्कुचुक बनाउँदा उनीहरुलाई झनै कष्टमा पारेको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्रबाट विसं २०५९ सालमा आरक्षबाट पुनःस्थापना गराइने भन्दै हटाइएका छ सयभन्दा बढी परिवार यहाँ शिविर बनाएर बस्दै आएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७३, शुक्रबार  २ : ११ बजे