कोरोना जितेको डेढ सातामा जाङ्गबुले गरे सगरमाथा आरोहण

378 Shares

सोलुखुम्बु । विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले १७ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् ।

जाङ्ग्बु शेर्पा कीर्तिमानी आरोही हुन् । उनले सन् २००६ मा ४ मिनेट ४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड कायम राखेका थिए ।

बहराइनको राजकुमारको टोलीसँगै काठमाडौंबाट २२ चैत २०७७ मा बेस क्याम्प प्रस्थान गरेका थिए । जाङ्ग्बु सगरमाथा बेश क्याम्पमा बिरामी भएका थिए । ज्वरो आउने, खोकी लाग्ने समस्या भएपछि उनी ७ वैशाख २०७८ मा हेलिकप्टरमा काठमाडौं आएका थिए । काठमाडौं आएर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमण भएपछि उनी ६ दिन अस्पताल बसे भने ६ दिन होम आइसोलेसनमा बसे । कोरोना मुक्त भएलगत्तै उनी फेरि वैशाख १९ गते सगरमाथा बेश क्याम्पतिर लागेका थिए । उनले वैशाख २८ गते सगरमाथा सफल आरोहण गरेका थिए ।

जाङ्ग्बु भन्छन्, ‘कोरोना संक्रमण भएर बिरामी भएँ, सञ्चो हुनेबित्तिकै सगरमाथा गएँ । कोरोना जितेर जानु धेरै जोखिम थियो, आत्मबल बलियो बनाएर गएको थिएँ । कुनै समस्या नभएर राम्रैसँग सगरमाथा आरोहण गरेर काठमाडौं फर्केको छु ।’

उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितलाई भनेका छन्, कोरोना जित्न आत्मबल ठूलो कुरा हो, म कोरोना जितेलगत्तै सगरमाथाको चुचुरो पुगेर आएको छु । कोरोना संक्रमण भएँ भन्दै आत्मबल कमजोर नबनाउन सबैमा आग्रह गर्दछु ।

जाङ्ग्बुले २००३ देखि २०१९ सम्म १६ पटक सगरमाथा आरोहण गरिसकेका छन् । यो उनको १७ औँ आरोहण हो । २०२० भने कोरोनाका कारणले सगरमाथा आरोहण गर्न नसकेको उनी बताउँछन् ।

जाङ्ग्बु पछिल्लो समय सामाजिक सेवामा पनि तल्लीन छन् । उनले दुर्गममा रहेका पीडित दुःखी असहायलाई सहयोग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार