२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

तीन किसानलाई ‘राष्ट्रपति उत्कृष्ट पुरस्कार’



लमजुङ, ५ कात्तिक । कृषि र पशुपालन क्षेत्रमा उष्कृष्ट कार्य गरिरहेका लमजुङका तीनजना कृषकले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्राप्त गरेका छन् । जिल्ला कृषि विकास र पशु विकास कार्यालय लमजुङले संयुक्तरुपमा पुरस्कार वितरण गरेका हुन् ।

बिहीबार एक कार्यक्रमबीच बाग्लुङपानीका मनप्रसाद गुरुङ, इशानेश्वरका अमृत अधिकारी र जिताका बोधराज सेढार्इंलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत कृषकले नगद राशि १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्लाबाट सिफारिस भएको आधारमा क्षेत्र र राष्ट्रियस्तरबाट पनि पुरस्कार वितरण गर्ने प्रावधान छ । जिल्लामा १० हजार र क्षेत्रमा २५ हजार रुपैयाँ रहेको पुरस्कारको राशि केन्द्रमा भने दुई लाखको रहेको छ ।

पुरस्कृत हुने किसान मनप्रसाद गुरुङले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउएका छन् । बाग्लुङपानीमा रोयल बाख्रा फार्म सञ्चालन गरी गुरुङले व्यावसायिक रुपमा उन्नत जातका ब्याड बोकासमेत उत्पादन गर्दै आएका छन् । अर्का पुरस्कृत व्यक्तित्व अमृत अधिकारी व्यावसायिक गाईपालक किसान हुन । उनीसहित अन्य साथीहरु मिलेर अमृतधारा दुग्ध सहकारीमार्फत व्यावसायिक गाईपालन गरेका छन् ।

पुरस्कृत हुने अर्का व्यक्ति बोधराज सेढार्इं व्यावसायिक बाख्रापालक किसान हुन् । उनको पनि माउन्टेन एग्रो फार्म रहेको छ । उनले बाख्राबाहेक कफी लगायतका अन्य कृषिजन्य उत्पादन पनि गर्दै आएका छन् ।

पुरस्कार पाएपछि किसानले आफूहरुलाई थप प्रेरणा मिलेको भन्दै कृषि र पशुपालनलाई अझै व्यावसायिक बनाउन लागिपर्ने बताए । उनीहरुले बिचौलियका कारण किसान र उपभोक्ता दुवै मारमा परेको भन्दै बजार व्यवस्थापनका लागि सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७३, शुक्रबार  ४ : ५६ बजे