थुलुङ दुधकोशीले ल्यायो ४६ करोड ६२ लाखको बजेट

सुकुम्बासीलाई घडेरी, शहिद तथा वेपत्ता परिवारलाई मासिक भत्ता

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको स्थानीय तह गाउँपालिकामध्ये सबैभन्दा बढि जनसंख्या भएको गाउँपालिका थुलुङ दुधकोशीले आर्थिक वर्ष २०७८-०७९ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

बिहीबार बसेको छैठौँ गाउँ सभाबाट ४६ करोड, ६२ लाख १६ हजार ७ सय रुपैँयाको वार्षिक बजेट पारित गरेको हो ।

भूमिहिन किसान तथा सुकुम्बासीलाई घडेरी उपलब्ध गराएर सुकुम्बासीरहित गाउँपालिका बनाउन जग्गा खरिदका लागि यथोचित बजेट विनियोजन गरिएको छ । द्धन्द्ध पिडित शहिद तथा वेपत्ता परिवारलाई मासिक जीवन निर्वाह भत्ता २ हजार, माझि समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनको निम्ति शैक्षिक प्रोत्साहन भत्ताको रुपमा वार्षिक ५ हजार उपलब्ध गराउने गरि बजेटको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड-१९)बाट संक्रमित नागरिकहरुको लागि संक्रमण, रोकथाम, उद्दार, उपचार तथा राहत वितरणका लागि बजेटको व्यवस्था गरिएको अध्यक्ष राईले बताए । माग भै आएका आर्थिक, सामाजिक विकास तथा रोजगारी सृजना हुने किसिमका आयोजनाहरुलाई समानुपातिक वितरणको सिद्दान्त अनुरुप बजेटको व्यवस्था गरिएको राईले बताए ।

वार्षिक बजेटमा गाउँपालिकाले शुरु गरेका गौरवका आयोजनाहरु दुधकोसी सामुदायिक अस्पताल, थुलुङ दुधकोसी वहुप्राविधिक शिक्षालय, खेलग्राम लगायतका ठूला योजना निर्माण सम्पन्न तथा संचालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार