टानद्धारा ४०० पर्यटक मजदुरलाई राहत वितरण

अझै १७०० मजदुरलाई राहत दिन बाँकी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)द्धारा ४ सय पर्यटक मजदुरलाई राहत वितरण गरिएको छ । ‘टान फुड बैंक कार्यक्रम २०२१’ उपसमिति गठन गरि अति समस्यामा परेका पर्यटक मजदुरहरुलाई राहत वितरण गरिएको हो ।

टानले उपसमिति गठन गरि राहत वितरण गर्ने निर्णय सार्वजनिक गरेपछि राहतका लागि २ हजार २ सय २८ जना पर्यटक मजदुरले फर्म भरेका थिए । फर्म भरेकामध्ये अति समस्यामा परेका पर्यटक मजदुरहरुलाई पहिलो प्राथमिकतामा राखेर राहत वितर गर्न थालेको टानका प्रथम उपाध्यक्ष एवं टान फुड बैंक कार्यक्रमका संयोजक चोलेन्द्रबहादुर कार्कीले बताए ।

‘हामीले पहिलो कोरोना कहर जेनतेन धान्यौं । केहि समय अलि सहज भए जस्तो पनि भयो । तर फेरी दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण पर्यटन मजदुरहरु थप समस्यामा पर्न थाले ।’ संयोजक कार्कीले भने, ‘त्यसैले २ वर्षदेखि ठप्प भएको पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुलाई अति समस्या भएकाले हामीले फुड बैंक कार्यक्रमको अवधारणा अगाडि ल्याएर राहत वितरण गरेका हौं ।’

राहतका लागि २ हजार २ सय २८ जनामध्ये ६ सय ४६ अति समस्यामा परेका मजदुरहरुलाई फोन गरेर राहत लिन बोलाईसकिएको पनि संयोजक कार्कीले बताए । ६ सय ४६ जनामध्ये ४ सय जनालाई राहत वितरण गरिसकिएको छ । अझै १ हजार ५ सय ८२ जनालाई फोन गर्न बाँकी रहेको पनि संयोजक कार्कीले बताए । नेपाली पर्यटन क्षेत्रले देशको अर्थतन्त्रलाई थप सहयोग गर्ने भएकाले सम्पूर्ण पर्यटन क्षेत्रका कम्पनीहरुलाई टान फुड बैंक कार्यक्रमलाई सहयोग गरिदिन पनि संयोजक कार्कीले अनुरोध गरेका छन् ।

टान फुड बैंक उपसमितिको सहसंयोजकमा दामोदर ढकाल, सदस्यहरुमा कान्छा शेर्पा, मिङमा शेर्पा, सनम शेर्पा, प्रेम लामा, गोविन्द पन्त, सुशिलराज पौडेल र ङिमादिकी शेर्पा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार