बीबीसी । खोप कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउन प्रयास गरिरहेको भारतमा कोभिड सम्बन्धी कारणहरूबाट मृत्यु हुनेहरूको सङ्ख्या ४ लाख नाघेको बताइएको छ ।

कतिपय मृत्युको विवरण आधिकारिक सरकारी तथ्याङ्कमा समावेश नभएको हुँदा ज्यान गुमाएकाहरूको खास सङ्ख्या निकै बढी हुन सक्ने विज्ञहरूले बताएका छन् ।
कोभिडका कारण धेरैको मृत्यु हुने देशहरूमा भारत अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।

भारतमा हालसम्म तीन करोड भन्दा बढी मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन् जुन अमेरिकापछिको सर्वाधिक सङ्ख्या हो ।
भारतमा गत मे महिनामा सङ्क्रमणको लहर उच्च विन्दुमा रहेका बेला प्रत्येक दिन औसतमा ४ लाख जना सङ्क्रमित हुन्थे । त्यो सङ्ख्या अहिले घटेर ४० हजार भन्दा केही बढी छ ।
विभिन्न राज्यहरूमा कडा लकडाउन गरिएका कारण उक्त सङ्ख्या घटेको बताइएको छ । तर विज्ञहरूले भारतमा तेस्रो लहरको चेतावनी दिएका छन् ।
भारतमा जनसङ्ख्याको पाँच प्रतिशत भन्दा कम मात्र सर्वसाधारणले कोभिड विरुद्धको खोपको दुवै मात्रा लगाएका छन् । त्यहाँ गत ज्यानुअरी महिनामा खोप कार्यक्रम सुरु गरिएको थियो ।
सङ्घीय सरकारले सबै भारतीयलाई यो वर्षको अन्त्यसम्ममा खोप दिइसक्ने लक्ष राखेको छ तर सुस्त गति, खोप अभाव अनि खोप लगाउने विषयमा हिचकिचाहट जस्ता व्यवधानका कारण उक्त अभियान प्रभावित भएको बताइएको छ ।
भारतमा हाल कोभिशिल्ड र भारतमै विकास भएको कोभ्याक्सिन खोप प्रयोग गरिराखिएको छ । रुसको स्पुतनिक-भीले पनि आपतकालीन प्रयोगको अनुमति पाएको छ र यसको केही मात्रा पनि प्रयोग गरिएको छ । केही दिन अघि भारतको स्वास्थ्य मन्त्रालयले भारतीय कम्पनी सीप्लालाई मोडेर्ना खोप आपूर्ति गर्न अनुमति दिएको थियो ।
उक्त खोप कोरोनाभाइरस विरुद्ध झण्डै ९५ प्रतिशत प्रभावकारी रहेको देखिएको छ ।







