५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

मुलुक निर्माणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण योगदान’



विराटनगर, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले समाजको प्रगतिमा दिनुभएका महत्वपूर्ण योगदान राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा यहाँ आज आयोजित ज्येष्ठ नागरिक महोत्सवको उद्घाटन गर्दै उहाँले सिङ्गो राष्ट्रको प्रतिमूर्तिका रुपमा ज्येष्ठ नागरिकको असल अनुभवलाई समाजको विकासमा ऊर्जाका रुपमा सदुपयोग गर्न सुझाव दिनुभयो ।

राष्ट्रपति भण्डारीले भूमण्डलीकरण र आधुनिकीकरणको प्रभावसँगै संयुक्त परिवार टुट्दै जानु र समाजमा आत्मकेन्द्रित तथा व्यक्तिवादी सोचका कारण हाम्रो संस्कृति विघटित भइरहेकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “विश्वव्यापी रुपमा देखिएका ज्येष्ठ नागरिकको समस्याको समाधानमा संयुक्त राष्ट्र सङ्घले लिएका नीतिका साथै अन्तर्राष्ट्रिय सम्मेलनमा वृद्धवृद्धाका लागि पारित कार्यक्रमलाई पालना गर्नु हामी सबैको कर्तव्य हो ।”

Sagarmatha

उहाँले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा सुरु भएको वृद्धभत्ता दक्षिण एसियाकै नमुना कार्यक्रम हो, यसको माध्यमबाट ज्येष्ठ नागरिकमा सकारात्मक परिवर्तन ल्याउनाका साथै जीवनयापनमा समेत सहयोग पु¥याएको छ ।”

ज्येष्ठ नागरिकका लागि रहेका कानुनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपतिले आवश्यकतानुसार सामाजिक कानुन निर्माण गरी मानिसहरुलाई बालबालिका र वृद्धवृद्धाको नैतिक जिम्मेवारी लिन प्रेरित गर्नुपर्ने र राज्यलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने बताउनुभयो ।

ज्येष्ठ नागरिकका लागि सवारी साधन मैत्रीपूर्ण हुनुपर्ने तथा मनोरञ्जनस्थल, वृद्धवृद्धा उद्यानका साथै सहज ढङ्गले जीवन व्यतीत गर्ने खालको संरचनाको निर्माण गर्नुपर्ने र तीर्थाटनको समेत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

बालबालिकालाई टाढाका आवासीय विद्यालयमा राख्ने र आमाबुबालाई वृद्धााश्रममा राख्ने प्रचलनप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले भन्नुभयो, “अभिभावकविहीन बालबालिका र सन्तानविहीन वृद्धवृद्धाका लागि वृद्धाश्रम ठीक भए पनि ‘जन्म दिने र हुर्काउने’ आमाबुबालाई वृद्धाश्रममा पु¥याउने कार्यलाई निरुत्साहन गर्नुपर्छ ।”

उहाँले ज्येष्ठ नागरिकप्रति सद्भाव बढाउने खालका विषयवस्तु शैक्षिक पाठ्यक्रममा समावेश गरेमा सभ्यसमाजको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

बाइस ज्येष्ठ नागरिक सम्मानित
सो अवसरमा उहाँले १०० वर्षभन्दा बढी उमेर पुगेका २२ नागरिकलाई सम्मान गर्नुभयो । सम्मानित हुनेमा मोरङ, रङगेली– ८ की एक सय १६ वर्षीया दुखनीदेवी सरदार, सुन्दरदुलारी–१का एक सय १० वर्षीया तिलोत्तमा पोखरेल र एक सय आठ वर्षीया महेश्वरा अधिकारी छन् । त्यस्तै एक सय आठ वर्षीय कृतिराज गिरी र नन्दकुमारी अधिकारी लगायत हुनुहुन्छ ।

कार्यक्रममा नेकपा(एमाले)का नेता माधवकुमार नेपालले ज्येष्ठ नागरिकको सम्मान गर्ने कार्य राम्रो संस्कार र संस्कृति हो भन्दै हरेकलाई आआफ्ना आमाबुबाको हेरचाह गर्न आग्रह गर्नुभयो । मनमोहन प्रतिष्ठानका अध्यक्ष एवम् सांसद भरतमोहन अधिकारीले मुलुकको सात वटै प्रदेशमा वृद्धवृद्धाका लागि अस्पताल सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ६ कार्तिक २०७३, शनिबार  १० : १० बजे