२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

‘नवक्षितिज आशाका किरण’ खोज्दै सहरिया युवा 2016-10-22 15:32



 

काठमाडौँ, ६ कात्तिक । राजधानी सहरको सुविधा सम्पन्न कलेजमा अध्ययन गर्ने सहरिया युवा यतिखेर दुर्गम गाउँमा गरिबीको चपेटामा परेका प्रतिभावान विद्यार्थीको खोजीमा जुटेका छन् ।

विभिन्न खाले अवसर र सम्भावनाबाट ओझेलमा परेका बालबालिकालाई शिक्षाको ज्योति छर्दै समान अवसरका लागि सहरिया युवाले अभियानै सुरु गरेका हुन् ।

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थीले ‘युनिभर्सल सोलिडारिटी मुभमेन्ट’ क्लब अन्तर्गत भूकम्प प्रभावित बालबालिकाको सहयोगार्थ अभियान चलाएका छन् ।

क्लबले बर्सेनि ठूलो कार्यक्रम गरी उठेको रकमबाट दुर्गम क्षेत्रमा विद्यालय निर्माण गर्दै आएको छ । यसपटक भूकम्पबाट बढी प्रभावितमध्ये दोलखाको शैलुङ्गेश्वर गाविसको कालिभूमे प्राथमिक विद्यालयको भवन निर्माण गर्ने क्लबका मध्यस्थकर्ता वासुदेव घिमिरेले बताउनुभयो ।

कलेज भौतिक शास्त्र विभागका संयोजक समेत रहनुभएका घिमिरेले कार्यक्रमबाट करिब तीन लाख रकम सङ्कलन हुने र उक्त रकम विद्यालय निर्माणमा खर्च गरिने बताउनुभयो । विद्यालय निर्माणका लागि नेपाल जेसिसले जस्तापाता उपलब्ध गराउनेछ । क्लबले अघिल्लो वर्ष दोलखाकै नाम्बु गाविसमा प्रावि निर्माण गरेका थिए । आर्थिक सहयोग मात्र नभइ क्लबका सदस्य गएर श्रमदान समेत गर्नेछन् ।

संयोजक घिमिरेले सहरमा त सबैले सहयोग गरेकै छन् तर भूकम्पबाटपीडित दुर्गमका विद्यार्थीलाई किन सहयोग नगर्ने भनेर आफूहरु गाउँतिर गएको बताउनुभयो ।

क्लबका उपाध्यक्ष सम्प्रदा न्यौपानेले दुर्गम क्षेत्रमा शिक्षाबाट वञ्चित बालबालिकालाई शैक्षिक अवसर प्रदान गरी उनीहरुमा आशाका किरण जगाउन लागि परेको बताउनुभयो ।

अभियानमा घिमिरेको नेतृत्वमा आठजना दश जोड दुई अध्ययनरत विद्यार्थीको कार्यसमिति छ, जसमा अध्यक्ष ऊर्जा हुमागाइँ, उपाध्यक्षद्वय सम्प्रदा न्यौपाने र भूषण झा, सचिव हिमाङ्छु पाठक, ‘आइटी एनालाइसिस’ प्रज्वल ज्ञवाली, ‘ह्युमन रिसोर्स’ आचल सिंह ‘इभेन्ट म्यानेजर’ वसन्त रिजाल र कोषाध्यक्ष महेश पाण्डे हुनुहुन्छ ।

ललितपुर हात्ति वन बस्ने अभियान्ता न्यौपानेले समाज शास्त्रबारे अध्ययन गरेकाले समाजका लागि केही गराँै भन्ने उद्देश्यले यस किसिमको अभियानमा लागेको बताउनुभयो ।

विज्ञान सङ्कायका कक्षा १२ मा अध्ययनरत् भक्तपुर गट्ठाघरका हिमाङ्छु पाठकले समाजसेवा गर्न पाउँदा आनन्दित हुने भएकाले यो अभियानमा जुटेको बताउनुभयो ।

उहाँले दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षाको अवसर दिउँ भनेर ‘नवक्षितिज आशाका किरण’ नाराका साथ कार्यक्रम गरिएको र अर्को कार्यक्रम सिन्धुपाल्चोकमा लैजाने योजना रहेको सुनाउनुभयो ।

क्लबले आगामी कार्यक्रम ‘परिवर्तनका लागि परिवर्तन’ भन्ने नाराका साथ लैजाने योजना बनाएको छ । संयोजक घिमिरेले यस्ता कलेज धेरै भएकाले आफूहरुले जस्तै काम गरेर गाउँमा पुगे नवक्षित आशाका किरण साकार हुने बताउनुभयो ।

कार्यक्रमलाई स्टार हस्पिटल, नेपाल– बङ्गलादेश बैंक, शिखर इन्स्युरेन्स, अस्मिता पब्लिकेसन, सुकुना पब्लिकेसन आदिले सहयोग गरेका छन् । एक दिवसीय कार्यक्रममा स्टेज प्रस्तुती, चित्रकला प्रतियोगिता, डिस्को, विभिन्न मनोरन्जनात्मक खेल, पानीपुरी प्रतियोगिता, फुड स्टल आदि राखिएको छ । विद्यार्थीमात्र नभइ सर्वसाधरणलाई पनि लक्षित गरेर कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा प्रवेश शूल्क रु ५० र डिस्कोका लागि छुट्टै रु ५० शुल्क तोकिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७३, शनिबार  १० : १२ बजे