सोलुखुम्बु । प्रदेश नं. १ का मुख्यमन्त्री भिम आचार्यको मन्त्रीमण्डलमा सामेल हुन बुद्धिकुमार राजभण्डारीले अस्वीकार गरेका छन् ।

सोलुखुम्बु प्रदेश ‘ख’ बाट निर्वाचित नेकपा एमालेका सांसद राजभण्डारीले राज्यमन्त्री हुन अस्वीकार गरेपछि सोलुखुम्बुबाटै निर्वाचित प्रदेश ‘क’ सांसद उत्तमकुमार बस्नेतलाई राज्यमन्त्रीको चिठ्ठा परेको हो । प्रदेश नं. १ नेकपा एमाले संसदीय दलका सचेतक समेत रहेका बुद्धिकुमार राजभण्डारी, उदयपुरका सांसद विमल कार्की र राजकुमार ओझाले राज्यमन्त्री हुन अस्वीकार गरेका हुन् ।
नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री भिम आचार्यको मन्त्रीमण्डलमा कुनै नाटकीय परिवर्तन भएन भने मन्त्रीमण्डलको आयु २४ दिन मात्र छ ।

कुन दलसँग कति सांसद
नेकपा एमाले विभाजनपछि पनि प्रदेश नं. १ मा एमालेनै पहिलो पार्टी बनेको छ । एमालेसँग अहिले सभामुखसहित ४१ जना सांसद छन् । दोस्रो ठूलो दल भने नेपाली कांग्रेस छ ।
कांग्रेससँग २१ जना सांसद छ । माओवादी केन्द्र १५, एकिकृत समाजवादी १०, जनता समाजवादी (जसपा) ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च १ र राप्रपाका १ गरी जम्मा ९२ सांसद छन् ।
प्रदेश १ मा बहुमतका लागि ४७ जना सांसद चाहिन्छ । तर, सरकारमा रहेको नेकपा एमालेसँग अहिले मत जाहेर गर्ने ३९ जना मात्र सांसद छन् । १ जना सांसद किर्ते हस्ताक्षरमा मुद्धा परेपछि उनी अहिले फरार छन् । सभामुखको हकमा विश्वासको मत लिदा बराबर मत भएमात्रै मतदान गर्ने नियम छ । तर, कांग्रेस, माओावादी र एकिकृत समाजवादी बाहेकका सबैले सरकारको पक्षमा मतदान गरेपनि बहुमत पुग्दैन । त्यसैले केन्द्रीय राजनीतिमा कुनै नाटकिय परिवर्तन भएन भने भिम आचार्यको मन्त्रीमण्डको आयु मात्र २४ दिन बाँकी छ ।







