नगर सभापति मिङमारसहित ७ पदाधिकारीको उम्मेदवारी घोषणा

  सगरमाथा अनलाईन
3.1k Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिकामा मिङमार शेर्पा टिमले नगर सभापतिको उम्मेदवारीसहित ७ पदाधिकारीको उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते हुने नगर अधिवेशनमा नगर सभापतिको उम्मेदवार शेर्पासहित ७ जना पदाधिकारीले उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील राजनैतिक नेताहरुको तर्फबाट आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको बताए ।

त्यसैगरी नगर उपसभापतिमा टंकबहादुर कार्की र मेमकुमारी राजभण्डारी, नगर सचिवमा राजिव कायस्थ र राजकुमार मगर, नगर सह सचिवमा ङवाङफिञ्जो शेर्पा र विनोद कालिकोटेको उम्मेदवारी घोषणा गरिएको सभापतिका उम्मेदवार
मिङमार शेर्पाले बताए ।

को हुन नगर सभापतिको उम्मेदवार मिङमार शेर्पा

शेर्पा नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय रुपले लागेको २५ वर्ष भयो । उनी नगरपालिकाको जनताले खोजेको जुनसुकै बेला भौतिक रुपमै उपस्थित हुन सक्ने सक्रिय युवा नेताको रुपमा पनि छवि बनाएका छन् । विभिन्न आन्दोलनमा होस या पार्टी जीवनको राजनीतिमा उनले सँधै निरन्तर पार्टीको तर्फबाट अन्याय र भ्रष्टाचारको विषयमा बोलिरहे ।

नेपाल विद्यार्थी संघ सोलुखुम्बुको जिल्ला कार्य समिति सदस्यबाट औपचारिक रुपमा राजनीति सुरु गरेका शेर्पा केहि वर्षपछि नेविसंघ सोलुखुम्बुको सहअध्यक्षको जिम्मेवारी पनि सफलतापूर्वक निर्बाह गरेका थिए । त्यत्ति मात्र होइन उनी तत्कालिन बेनि गाविसको गाउँ ईकाई सभापति समेत भएर स्थानीयको मन जितेका थिए । अहिले उनी सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. २ का वडा अध्यक्ष रहेका छन् । राजनैतिक क्रियाशीलताको हिसाबमा उनी नगरपालिकाको युवा नेताहरुमध्ये सबैभन्दा अगाडि छन् ।

शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेसँगै जिल्लाका फरक विचार र सिद्धान्त बोकेका युवा नेताहरुले उनको खुलेर समर्थन र प्रशंसा गरिरहेका छन् । विभिन्न सामाजिक सञ्जालमा उनको तस्वीर राखेर विजयीको शुभकामना समेत दिइरहेका छन् ।

नगर उपसभापतिको उम्मेदवारी घोषणा गरेका टंकबहादुर कार्की सामाजिक काम र राजनीतिमा क्रियाशिल युवा हुन् । उनी विभिन्न सामाजिक संस्थाहरुसँग आबद्ध भएर राजनीतिसँगै सामाजिक सेवामा पनि निरन्तर काम गरिरहेका छन् ।

अर्का नगर उपसभापित मेमकुमारी राजभण्डारी भने औपचारिक राजनीतिमा नयाँ अनुहार हुन् । उनी वैचारिक रुपमा लोकतान्त्रिक विचारका भए पनि खुलेर राजनीतिमा पहिलो पटक लागेका हुन् । उनी युवा महिला व्यवसायी पनि हुन् ।

नगर सचिवको उम्मेदवार राजीव कायस्थ विद्यार्थी राजनीतिमा सक्रिय हुँदै नेपाली कांग्रेसको मूलधार राजनीतिमा प्रवेश गरेका हुन् । कायस्थ पनि विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भएर सामाजिक सेवा सँगसँगै सक्रिय राजनीति गरिरहेका युवा नेता हुन् ।

अर्का नगर सचिवको उम्मेदवार राजकुमार मगर पनि विभिन्न सामाजिक संस्थामा आबद्ध छन् । उनी पनि सामाजिक सेवासँगै सक्रिय राजनीतिमा सहभागी छन् । उनी समाज सेवा, राजनीतिसँगै युवा व्यवसायी पनि हुन् । हाल उनी सुर्के सामुदायिक वन उपभोक्ता समिति पत्तालेका अध्यक्ष समेत छन् ।

नगर सह सचिवको उम्मेदवार ङवाङफिञ्जो शेर्पा भर्खरै सक्रिय राजनीतिमा होमिएका युवा हुन् । हाल उनी शेर्पा विद्यार्थी मञ्च सोलुखुम्बुका अध्यक्ष समेत छन् ।

अर्का सहसचिव विनोद कालिकोटे लामो समय नेपाल विद्यार्थी संघमा रहेर क्रियाशील रुपमा मातृ पार्टी नेपाली कांग्रेसलाई सहयोग गर्दै आएका युवा नेता हुन् । युवा व्यवसायी समेत रहेका कालिकोटे हाल सोलुदुधकुण्ड नगरकार्य समितिका सदस्य समेत छन् ।

यसैबीच पूर्वसभापति आङगेलु शेर्पाको समूहबाट सोनामग्याल्जेन शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेका छन् । हाल उनी सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य समेत छन् । उनको समूहबाट उपसभापतिमा सरिता राई र ङवाङफुरी शेर्पा, सचिवमा दावा शेर्पा र अष्टबहादुर तामाङ, सह सचिवमा भिमबहादुर कार्की र कान्छाबहादुर बिश्वकर्माको उम्मेदवारी घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार