१४ औं महाधिवेशन: सोलुखुम्बु प्रदेश ‘क’ सभापतिमा रोशनबाबु थुलुङको उम्मेदवारी

पार्टीलाई तेरो, मेरो होइन, हाम्रो भनेर अगाडि बढौं

  सगरमाथा अनलाईन

सोलुखुम्बु । नेपाली कांग्रेस १४ औं महाधिवेशनमा सोलुखुम्बु प्रदेश ‘क’ सभापतिमा रोशनबाबु थुलुङले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्लाको ५२ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सकिएसँगै थुलुङले प्रदेश ‘क’ सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । थुलुङ अहिले नेपाली कांग्रेसको राज्य प्रशासन विभागका केन्द्रीय सदस्य छन् ।

को हुन् रोशनबाबु थुलुङ ?

सोलुखुम्बु जिल्लाको दक्षिण पूर्वमा अवस्थित साविकको नेले (हाल थुलुङ दुधकोशी १)मा जन्मिएका थिए । उनको बुबा रमेशबाबु थुलुङ जिल्लाकै राजनीतिज्ञ भएकाले उनी सानैदेखि राजनीतिमा चासो राख्थे । थुलुङ राजनैतिक परिवारमा हुर्किएकाले विभिन्न परिवर्तनहरुको प्रत्यक्ष अनुभव उनीसँग छ ।

उनको बुबा साविक नेले गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएपछि घरमा राजनीतिकर्मी र जनताहरुको ओहोरदोहोरले उनलाई राजनीतिमा झन गहिरो छाप पार्यो । बुबाले गाविस अध्यक्ष भएपछि गरेको विकास र जनताको सेवाले उनलाई राजनीतिमै क्रियाशिल भएर लाग्न उत्प्रेरण मिल्यो ।

तत्कालिन समयमा एसएलसी उत्तिर्ण भए लगत्तै उनी उच्च शिक्षाको लागि काठमाडौं गए । क्याम्पसमा भर्ना भएदेखिनै उनी नेपाल विद्यार्थी संघको सदस्य लिएर क्याम्पसमै विद्यार्थी राजनीतिमा लागे । कयौं दुर्गमका विद्यार्थीहरुलाई सहयोग गरे । केहि विद्यार्थीको क्याम्पस प्रशासनसँग आग्रह गरेर मासिक शुल्क मिनाह गर्न लगाए ।

उनी वि.सं. २०४६ सालको जनआन्दोलनमा क्याम्पसको तर्फबाट अग्रमोर्चामा रहेर आन्दोलनमा होमिए । क्याम्पसबाट विद्यार्थी आन्दोलनको कमाण्ड गर्नुपर्ने भएकाले उनी सँधै अग्रपंक्तिमा हिड्थे । आन्दोलनमा अग्रपंक्तिमा भएको बेला उनले कयौं पटक प्रहरीको लाठी र अश्रुग्याँस खाए । त्यत्ति मात्र होइन प्रहरीसँग ठेलाठेल गर्दा कति पटक त साथीसाथीबीचमा पनि एक आपसमा ठोक्किएर घाईते भए ।

तत्कालिन समयमा अहिलेको जस्तो वाक स्वतन्त्रता र शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने कसैलाई छुट थिएन । सैद्धान्तिक रुपमा बाहिर भनिए पनि व्यवहारमा त्यस्तो थिएन । तत्कालिन राजाले जे भन्छ, त्यही हुन्थ्यो । राज संविधानभन्दा माथि भएकाले पनि होला । तर, अन्ततः जनआन्दोलनले गर्दा वि.सं. २०४७ सालमा राजालेनै भएपनि नयाँ संविधान जारी गरे ।

उनी राजनीतिमा सक्रिय भएपछि जिल्लामा विभिन्न समयमा भएको निर्वाचनमा पार्टीलाई निरन्तर साथ र सहयोग गरिरहेका छन् । उनी नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका महासचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।

उनी राजनीतिमा मात्रै होइन सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । काठमाडौंमै बसोबास गरेपनि उनी आफ्नो गाउँ नेलेका लागि नेले विकास समाजको अध्यक्ष भएर गाउँलाई शहरसँग भावनात्मक रुपमा जोडे ।

उनको परिवारनै राजनीतिमा होमिएका कारण तत्कालिन माओवादी द्धन्द्धको समयमा नेले गाविसबाट विस्थापित हुने थुलुङको परिवारनै पहिलो थियो । उनको दाजु विजयकुमार थुलुङ (ओसन) २ पटक नेविसंघ सोलुखुम्बुको अध्यक्ष भएका थिए । माओवादी द्धन्द्धकालमा उनको बुबालाई तत्कालिन माओवादीले सफाया (मार्ने) योजना बनाएको थियो । अन्तत: उनको बुबा बाँच्न सफल भए । द्धन्द्धका कारण गाउँबाट काठमाडौं विस्थापित भए पनि उनको परिवार राजनीतिमा सक्रिय लागिरहे । उनको दाजु ओसन हाल अमेरिकामा छन् । उनी अमेरिकामै भएपनि नेपाली कांग्रेस प्रवास संगठनमा आबद्ध छन् । ‘बुबालाई हामीले केहि महिना अगाडि गुमायौं, बुबाको सपना पूरा गर्न पनि मैले उम्मेदवारी दिएको हो ।’ थुलुङले भने ।

थुलुङको उम्मेदवारी किन ?

जिल्लामा नेपाली कांग्रेसभित्र बढिरहेको आन्तरिक कलह र गुटको राजनीति सँधैका लागि समाप्त पार्न थुलुङले सभापतिको उम्मेदवारी दिएको बताए । जिल्लामा पहिले नेपाली कांग्रेसमय थियो । तर, आन्तरिक झगडा र गुटको राजनीतिले कांग्रेस कमजोर बनेको छ । ‘कांग्रेस पार्टीलाई तेरो, मेरो भन्ने होइन, हाम्रो कांग्रेस भनेर अगाडि बढ्नु पर्छ ।’ थुलुङले भने, ‘अनि मात्रै कांग्रेसलाई सोलुखुम्बुमा फेरी एकताबद्ध बनाएर कांग्रेसमय बनाउन सकिन्छ ।’

उनले जिते भने ४/४ महिनामा प्रत्येक स्थानीय तहमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाको बारेमा जानकारी गराने योजना छ । ‘अग्रज नेताहरुलाई सम्मान गर्दै युवा पुस्तालाई नेतृत्व हस्तान्तर गर्नु नै आजको आवश्यकता हो ।’ उनले भने ।

यसैबीच सोलुखुम्बु प्रदेश ‘क’ सभापतिमा धनजन राईले पनि उम्मेदवारी घोषणा गरेका हुन् । राई बलबहादुर केसी समूहबाट उम्मेदवारी घोषणा गरेका हुन्, भने, थुलुङ आङगेलु शेर्पा समूहबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस

सोलुखुम्बु प्रदेश ‘क’ सभापतिमा धनजन राईको उम्मेदवारी घोषणा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार