सोलुदुधकुण्ड नगरपालिका सभापतिमा सोनामग्याल्जेन निर्वाचित

सोनाम १०१, मिङमारले ६६ मत प्राप्त गरे

  सगरमाथा अनलाईन

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिका सभापतिमा सोनामग्याल्जेन शेर्पा विजयी भएका छन् । नेपाली कांग्रेस सोलुदुधकुण्ड नगरपालिका समितिको सभापतिमा शेर्पासहित उनको समूहनै विजयी भएको हो ।

कांग्रेसको १४ औं महाधिवेशनका क्रममा मंगलबार शुरु भएर बुधबार सम्पन्न नगर अधिवेशनमा शेर्पाले अर्का सभापतिका उम्मेदवार मिङमार शेर्पालाई पराजित गरेका हुन् । बुधबार भएको मतदानमा खसेको कुल १८० मत खसेको थियो । खसेको मतमध्ये शेर्पाले १०१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी मिङमार शेर्पाले ६६ मत प्राप्त गरेको निर्वाचन समितिका एक सदस्यले बताए । कुल खसेको मतमध्ये १३ मत बदर भएको छ ।

त्यसैगरी उपसभापतिमा सरिता राई र ङवाङफुरी शेर्पा विजयी भएका छन् । सचिवमा दावा शेर्पा र अष्टबहादुर तामाङ, सह सचिवमा भिमबहादुर कार्की र कान्छाबहादु बिश्वकर्मा विजयी भएका छन् ।

नगर सभापतिमा निर्वाचित शेर्पा पूर्व कांग्रेस जिल्ला सभापति आङगेलु शेर्पा र उनका प्रतिद्वन्द्वी मिङमार पूर्वमन्त्री बलबहादुर केसी समूहका हुन् । उनीहरू छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

नगर अधिवेशस सकिएसँगै नेपाली कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन सकिएको छ । खुम्बु पासाङल्हामु सभापतिमा चुङ्बा शेर्पा, महाकुलुङमा बलकुमार कुलुङ, सोताङमा कृष्णबहादुर कार्की र माप्य दुधकोशीमा नविन कार्कीलगायत पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन गरिएको थियो ।

त्यस्तै लिखुपिकेमा सुरज बस्नेत, नेचासल्यानमा निरकुमार शर्मा, थुलुङ दुधकोशीमा भक्तबहादुर गुरुङ चुनावी प्रक्रियाबाट सभापतिमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार