काठमाडौं । एजुकेशन डेप्लपमेन्ट फाउण्डेशन नेपालको सहकार्यमा स्पेनीस नागरिक आल्मा मिलानद्धारा १ सय ७० घरपरिवारलाई राहत वितरण गरिएको छ ।

अति गरिबिको रेखामुनि रहेका १ सय ७० घरपरिवारलाई आज (बुधबार) राहत वितरण गरिएको हो । नेपालका विभिन्न १० जिल्लाका अति गरिबिको रेखामुनि रहेका विपन्न वर्गका नागरिकलाई राहत वितरण गरिएको ईडिएफओ नेपालका कार्यकारी निर्देशक कामी शेर्पाले बताए ।
‘नेपालका विभिन्न १० जिल्लाबाट काठमाडौं आई अस्थायी रुपमा बसोबार गर्दै आएका अति विपन्न १ सय ७० घरपरिवारलाई हामीले दशैँ मनाउन सहज होस भनेर राहत वितरण गरेका हौं ।’ कार्यकारी निर्देशक शेर्पाले भने, ‘झनै पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट अति पिडामा परेका दैनिक ज्यालादारी मजदुरी गरेर खानेहरुलाई हामीले राहत स्वरुप २५ केजी चामल, ३ केजी दाल, १ लिटर खानेतेल, १ किलो नुन र १ किलो चिनी वितरण गरेका छौं ।’

स्पेनीस नागरिक आल्मा मिलानले बार्सिलोनास्थित तारासा सिटिको आर्थिक सहयोगमा राहत वितरण गरिएको निर्देशक शेर्पाले बताए । आल्मा सन् २०१३ सालदेखि नेपालमा अति विपन्न परिवारलाई शिक्षा र खाद्यान्नमा सहयोग गर्दै आएको पनि शेर्पाले बताए ।
राहत काठमाडौंको तारकेश्वर जरङ्खुस्थित नेपाल रत्न विद्यालयमा अध्ययन गर्ने अति विपन्न विद्यार्थीहरुको अभिभावकलाई प्रदान गरिएको हो । अति विपन्न करिब ३ सयभन्दा बढि विद्यार्थीहरुलाई सोहि विद्यालयमा निःशुल्क रुपमा पढाईरहेको पनि निर्देशक शेर्पाले बताए ।












