तरुणदल सोलुखुम्बुको सहकार्यमा आङछिरिङद्धारा लिखुपिकेका १०५ घर थामीहरुलाई राहत वितरण

  सगरमाथा अनलाईन

सोलुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुको सहकार्यमा लिखुपिके गाउँपालिका वडा नं. ५ का १ सय ५ घरपरिवार थामीहरुलाई राहत वितरण गरिएको छ ।

स्थानीय सरकार लिखुपिके ५ का वडा अध्यक्ष एवं तरुण दल सोलुखुम्बुका उपाध्यक्ष ङिमछिरी लामाको व्यवस्थापन तथा तरुण दल सोलुखुम्बुको सहकार्यमा सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस आदिवासी जनजाती विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पाले राहत वितरण गरेका हुन् ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)का कारण हरेक क्षेत्रमा समस्या देखिएकाले ४ महिना अघिनै तय गरिएको राहत वितरण कार्यक्रम भौगोलिक विकटता र वर्षायामका कारण ४ महिना पछाडि धकेलिएको नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधी अशोक झाले बताए । ‘हामीले काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्ने दैनिक ज्यालादारी मजदुरहरुलाई मात्रै होइन, दूर दराज र भौगोलिक विकटतासँग मुकाविला गरिरहेका अति विपन्न एवं अल्पसंख्यक लिखुपिके गाउँपालिकाका थामीहरुलाई दशैँको मुखमा केहि सहुलियत होस भनेर राहत वितरण गरेका हौं ।’ अध्यक्ष झाले भने, ‘हामीले राहत स्वरुप २५ किलो चामल, १ केजी नुन र माक्स १ सय ५ घरपरिवार थामीहरुलाई लिखुपिकेमै पुगेर राहत वितरण गरेका हौं ।’

सफल पर्यटन व्यवसायी शेर्पाले गुम्बा र मन्दिरमा धेरै सहयोग गर्नुभन्दा असली भगवान खान नपाएर छटपटाई रहेका गरिबहरुलाई सहयोग गर्नु महापुण्यको काम भएको बताए । ‘लकडाउने मलाई धेरै कुरा सिकायो । काठमाडौंको गल्लीभित्र खाना नपाएर छटपटाईरहेकाहरुलाई राहत पुर्याउन जाँदा मलाई साँच्चै भगवान भेटे जस्तै भयो ।’ शेर्पाले भने, ‘गुम्बा र मन्दिरमा लाखौंको पूजा गर्नुभन्दा खाना नपाएर भोकै छटपाईरहेकाहरुलाई खाना दिनुनै सबैभन्दा ठूलो पुण्यको काम हो । मैले यसो भनिरहँदा गुम्बा र मन्दिरमा पूजा नै नगर्नु भनेको चाँहि पक्कै होइन । पूजा गर्नु तर दुःखी र गरिबहरुलाई झन धेरै सहयोग गर्नु भनेको हो ।’

राहत वितरण कार्यक्रममा सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस आदिवासी जनजाती विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पा, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधी अशोक झा, पूर्व जिल्ला पार्टी सभापति प्रभुराम बस्नेत, खाङ्ग्री ईन्टरनेश्नल अस्पताल जोरपाटी काठमाडौंका प्रबन्ध निर्देशक लक्ष्मी अवा, लिखुपिके वडा नं. १ अध्यक्ष ङवाङल्हाक्पा शेर्पा, वडा नं. ५ का वडा अध्यक्ष ङिमछिरी लामा, नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सचिव सरोज बस्नेत, अमृत बस्नेतलगायत अन्य नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार